काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी ९ मन्त्रीलाई कारवाही गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रक्रिया अगाडि बढाएको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूहले ओली नेतृत्वको कामचलाउ सरकारमा सहभागी ९ मन्त्रीलाई ७ दिने स्पष्टीकरण सोधेको हो ।
शनिवार बसेको पदाधिकारी बैठकले गरेको निर्णयअनुसार जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूहमा रहेर सरकारमा गएका ९ मन्त्रीलाई आज आईतवार ७ दिने स्पष्टीकरण सोधिएको छ ।
यसअघि जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले महन्थ–राजेन्द्र पक्षका ४ जनालाई स्पष्टीकरण सोधेको थियो । ती चारै जनाले जवाफ दिन इन्कार गरेको भन्दै अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो तथा नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको थियो ।
ओली सरकारमा गएका ९ जना मन्त्रीलाई ७ दिनमा जवाफ दिन भनेर ४ बुँदे स्पष्टीकरण सोधिएको जनाइएको छ । स्पष्टीकरण नदिए वा चित्तबुझ्दो जवाफ नदिए पार्टीका सबै जिम्मेवारीबाट बर्खास्त गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शरतसिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, खानेपानी मन्त्री अनिल झा, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरिया, युवा तथा खेलकुद मन्त्री एकवाल मियाँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल प्रसाद श्रीवास्तव, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरी र महिला, बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङलाई स्पष्टीकरण सोधिएको छ ।
यसअघि नै जसपाको बाबुराम–उपेन्द्र समूहले ओली सरकारका पक्षमा उभिनेहरूलाई निष्कासन गर्ने निर्णय गरिसकेको भएपनि ९ जना मन्त्रीलाई ७ दिने स्पष्टीकरणको मौका दिइएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।