आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

त्यति सजिलै मुख्यमन्त्री बनेका होइनन् कृष्णचन्द्र नेपाली, थाहा पाउनुहोस् रोक्ने षड्यन्त्र !

त्यति सजिलै मुख्यमन्त्री बनेका होइनन् कृष्णचन्द्र नेपाली, थाहा पाउनुहोस् रोक्ने षड्यन्त्र !

  • मिडिया डबली
  • आइतवार, जेठ ३० २०७८

  • 7.6K
    SHARES

  • त्यति सजिलै मुख्यमन्त्री बनेका होइनन् कृष्णचन्द्र नेपाली, थाहा पाउनुहोस् रोक्ने षड्यन्त्र !

    काठमाडौं – केन्द्रमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउन चालेको कदम गण्डकी प्रदेशमा पनि दोहोरिने हो कि भन्ने आशंका भइरहेका बेला प्रदेश प्रमुख सिताकुमारी पौडेलले शनिवार अपराह्न नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी छन् ।

    पोखरेल नवलपुर क्षेत्र नम्बर १(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८(५) बमोजिम बहुमत पुर्‍याउन सक्ने प्रदेशसभा सदस्यलाई शनिवार अपराह्न ३ बजेभित्र मुख्यमन्त्रीमा दाबी गर्न शुक्रवार आह्वान गरेकी थिइन् । तोकिएको समयभित्र पोखरेलको मात्र दावी पेश भएकाले उनलाई प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय जनमोर्चा (राजमो) का सांसदले पोखरेललाई मुख्यमन्त्री बनाउन शुक्रवार प्रदेश प्रमुखसमक्ष प्रस्ताव गरेका थिए । मुख्यमन्त्रीमा दावी पेश गर्न ६० सदस्यीय प्रदेश सभाका ३१ सांसद सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए । उनीहरुले चलखेल हुनसक्ने आशंका प्रदेश प्रमुखलाई हस्ताक्षर सनाखत गर्न लगाएर त्यसको एकप्रति ल्याएका थिए ।

    पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग दावी गर्दै प्रदेश प्रमुखलाई बुझाएको पत्रमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका २, जनमोर्चाका २ र १ स्वतन्त्र सांसदले हस्ताक्षर गरेका थिए ।

    पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुनुअघि पृथ्वीसुब्बा गुरुङले पनि सो पदका लागि दावी पेश गरेको हल्ला दिनभर चलाइयो । गण्डकी प्रदेश एमाले संसदीय दलका नेता गुरुङ २ दिनअघि मुख्यमन्त्रीमा विश्वासको मत लिन असफल भएका थिए ।  

    गुरुङले विश्वासको मत नपाएपछि नयाँ मुख्यमन्त्री चयन प्रक्रिया अघि बढेको थियो । गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले मुख्यमन्त्रीमा गुरुङले दावी पेस गरेको पत्रकारलाई बताएका थिए । तर उनको दावी झुटा रहेको प्रदेश प्रमुखको कार्यालयले पुष्टि गरेको छ ।

    प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता अर्यालले भने, ‘कृष्णचन्द्र नेपाली बाहेक अन्य कसैले पनि मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छैन ।’

    पोखरेलको दावीलाई कमजोर पार्न जनमोर्चाका सांसद कृष्ण थापा र जसपा महन्थ ठाकुर पक्षले भाँजो हाल्ने प्रयास गरेका थिए । जनमोर्चाले सांसदबाट हटाएका थापाले जनमोर्चा संसदीय दलको नेता आफू भएको दावी गर्दै मुख्यमन्त्रीमा पार्टीको समर्थन पोखरेललाई नरहेको चिठी बोकेर प्रदेश प्रमुखसमक्ष गएका थिए ।

    जसपा ठाकुर पक्षीय प्रदेश समितिका अनिल परियारले पोखरेललाई मुख्यमन्त्री बनाउन पार्टीका सांसदले गरेको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गर्दै प्रदेश प्रमुखलाई पत्र पठाएका थिए ।

    थापा र जसपाले प्रदेश प्रमुखलाई पत्र बुझाएपछि प्रदेशसभा विघटन गरेर चुनाव घोषणा गर्ने हल्ला चलाइएको थियो । त्यसपछि पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका ३१ सांसदले प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिएका थिए । उनीहरुले अपराह्न ३ बजेपछि धर्ना दिएका थिए ।

    प्रदेश प्रमुखको कार्यालयबाट शपथका लागि बोलावटको पर्खाइमा रहेका गठबन्धनका सांसदहरु त्यतिबेला आक्रोशित बने, जतिबेला गुरुङले पनि मुख्यमन्त्रीमा दावी पेश गरेको भन्ने जानकारी पाए । त्यसलगत्तै उनीहरु धर्नामा बसेका थिए । अन्ततः तोकिएको समयभन्दा झण्डै ३ घण्टापछि प्रदेश प्रमुख पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

    पोखरेल मुख्यमन्त्री नियुक्त भएसँगै प्रदेशमा कांग्रेस नेतृत्वमा पहिलो सरकार बनेको छ । सर्वोच्च अदालतको निर्णय अनुसार नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र ब्युँतिए । त्यसपछि दुबै दलले एकले अर्कालाई निषेध गर्न थाले । यसैकारण कांग्रेसले सत्तामा जाने मौका पाएको छ ।

    मुख्यमन्त्रीमा विश्वासको मत पाउन नसकेका पृथ्वी सुब्बा गुरुङ प्रदेशसभा विघटन र फेरि मुख्यमन्त्री बन्ने दौडमा लागेको हल्ला दिनभर चलेसँगै उनको पनि आलोचना भयो । सामाजिक सञ्जालमा निकै नै आलोचना भयो । राजनीतिक विश्लेषक विश्व सिग्देलले भने, ‘लाज छोप्ने धरो पनि थिएन । लाज छोप्न नसक्ने अवस्था आएपछि मुख्यमन्त्री गुरुङ परिवर्तन हुन बाध्य भए । बहुमत सदस्य सशरीर उपस्थित भएपछि त उनको तिकडमको केही लागेन ।’

    गुरुङले सत्तामा रहरिहन प्रयास गरे पनि सफल हुन नसकेको सिग्देलको भनाइ रहेको छ । ‘काठमाडौंदेखि पोखरासम्म प्रतिरोध हुनसक्ने सम्भावना देखियो । केन्द्रमा पनि यसको प्रतिक्रिया तुरुन्तै आयो । प्रदेशमा धर्ना सुरू भयो,’ सिग्देलले भने, ‘गुरुङले परीक्षण गरेका हुन् तर असफल भए । पेल्ने रणनीति भए पनि काम लागेन, सच्चिन बाध्य हुनुपर्‍यो ।’

    अर्का राजनीतिक विश्लेषक सुरेन्द्र थापामगर प्रणालीको जीत भएपछि कतै पनि प्रश्न नउठ्ने बताउँछ । ‘आशंका विभिन्न आएका हुन् । तर सिस्टमले जित हासिल गरेको हो,’ थापाले भने, ‘बल्ल संवैधानिक काम भएको छ । प्रदेशसभा विघटन गरेको भए संविधानसम्मत हुने थिएन । नराम्रो सन्देश जान्थ्यो ।’

    कृष्णचन्द्र नेपाली पोखरेल) ७१ वर्षअघि तनहुँमा जन्मेका हुन् । तर उनको राजनीतिक थलो नवलपरासी भयो । उनले विद्यार्थी राजनीति भने तनहुँबाटै सुरू गरेका थिए । उनी प्रदेशसभा सदस्यमा पूर्वी नवलपरासी १(१) बाट निर्वाचित भएका हुन् ।

    नेपालीले एमाले–माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३८२ मतले पराजित गरेका थिए । पोखरेल गण्डकी प्रदेश कांग्रेसका संसदीय दलको नेता पनि हुन् । कारका गलत कामविरुद्ध सदनमा सशक्त आवाज उठाउँदै आएका उनी अहिले सरकारको नेतृत्वमा पुगेका छन् ।  

    राजनीतिमा मात्र होइन, उनी लामो समय शिक्षण पेशामा समेत क्रियाशील रहे । काभ्रे र तनहुँका स्कूलमा उनले अध्यापन गराए । प्रजातान्त्रिक आन्दोलनकै क्रममा उनी ६ पटक जेल परेका छन् । 

    २०४८ सालको अधिवेशनपछि उनी निरन्तर ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति भए । २०४८ सालको आमनिर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए । २०६२/६३ सालको जनआन्दोलनमा उनले नवलपुरको कमान्ड समाले । त्यो बेला पनि पनि उनी जेल परेका थिए ।

    कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । २०७० सालको संविधानसभा चुनावमा उनी ३२५ मतले पराजित भएका थिए । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend