काठमाडौं – नेपालमा कम्युनिस्टहरू मिलेर नेपाली कांग्रेसलाई पत्तासाफ गर्ने षड्यन्त्र असफल भएपछि अब कांग्रेस सरकारमा उक्लिँदै गएको छ ।
शनिबार नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेसँगै कांग्रेस ३ प्रदेशमा सत्तारुढ दल बनेको छ ।
कांग्रेस गण्डकी, कर्णाली र २ नम्बर प्रदेशमा सत्तारुढ दल बनेको छ । गण्डकीमा मुख्यमन्त्री र १ मन्त्री, २ नम्बर प्रदेशमा ३ मन्त्री र कर्णाली प्रदेशमा २ मन्त्री कांग्रेसका रहेका छन् ।
गण्डकीमा मुख्यमन्त्री पोखरेलले कांग्रेसका सांसद कुमार खड्कालाई विना विभागीय मन्त्री बनाएका छन् ।
केही दिनअघि २ नम्बर प्रदेशमा समेत कांग्रेस ३ मन्त्रीसहित सरकारका सहभागी भएको थियो । कांग्रेस प्रदेश संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार, यातायात तथा सिँचाइमन्त्री, वीरेन्द्रप्रसाद सिंहलाई महिला, बालबालिका तथा खेलकुदमन्त्री र ओमप्रकाश शर्मालाई ऊर्जा तथा खानेपानीमन्त्री रहेका छन् ।
त्यसअघि कर्णाली प्रदेशमा २ मन्त्रीसहित कांग्रेस सरकारमा गएको थियो । कर्णालीमा कांग्रेसका यज्ञबहादुर बिसी सामाजिक विकास मन्त्री र दिनबन्धु श्रेष्ठ जलस्रोत तथा ऊर्जा विकास मन्त्री रहेका छन् ।
यसरी देशभर विभिन्न प्रदेशमा कांग्रेस सरकारमा पुगिरहेको छ भने पदीय अहंकार बढेर मनपरी गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेका सरकारहरू ढलिरहेका छन् । गण्डकीमा एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारबाट बाहिरिएका छन् ।
गण्डकीमा पोखरेलले नेपाली कांग्रेसको पहिलो मुख्यमन्त्री बन्ने इतिहास रचेका छन् । कांग्रेसका लामो संघर्ष र योगदानबाट उनी मुख्यमन्त्री बन्न सफल भएका छन् ।
यस्तो छ मुख्यमन्त्री पोखरेलको संघर्ष –
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कृष्णचन्द्र नेपाली पोखरेल २०७४ सालको प्रदेश सभाको निर्वाचनमा नवलपरासी पूर्व जिल्लाको प्रदेशसभा क्षेत्र १(१) बाट निर्वाचित भएका हुन् । प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलका नेता बनेका उनी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।
२००५ जेठ ५ गते तनहुँको राम्चे अर्थात् हाल ब्यास–११ मा बाबु गोवद्र्धन शर्मा र आमा द्रौपदा शर्माबाट जन्मिएका पोखरेलको घरमै राजनीतिक पृष्ठभूमि रहेको थियो । पोखरेलका बुवा प्रजातन्त्रका सेनानी गोवद्र्धन शर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य र तनहुँ जिल्ला सभापति रहेका थिए ।
कांग्रेसको १२ औं महाधिवेशनमा लुम्बिनी अञ्चलबाट केन्द्रीय समितिमा निर्वाचित कृष्णचन्द्र नेपाली पोखरेल त्यसअघि २०४८ देखि २०६७ सम्म ४ पटक कांग्रेस नवलपरासीको सभापतिमा रहेका थिए ।
विगत ४ दशकदेखि सक्रिय राजनीतिमा क्रियाशील नेपालीले प्रजातन्त्र पुनर्स्थापनाको लागि भएका आन्दोलनको क्रममा पटक–पटक गरी ३ वर्षभन्दा बढी जेल जीवन बिताएको इतिहास छ ।
२०२२ देखि २०२८ सालसम्म पोखरेलले पिता स्व. गोवद्र्धन शर्माका साथमा भारतमा निर्वासित जीवन बिताएका थिए । राजनीतिक जीवन सँगसँगै पोखरेलले लामो समय काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कूलमा राजनीतिशास्त्र, भूगोल, इतिहास विषयको अध्यापन गराएका थिए । पोखरेलले विभिन्न विद्यालयमा प्रधानाध्यापकको भूमिकामा समेत काम गरेका थिए ।
२०३६ सालको जनमत संग्रहमा बहुदलको प्रचारमा सक्रिय भएर नेपाली कांग्रेसलाई विजयी गराएको आरोपमा तत्कालीन मन्त्रिपरिषद्को निर्णयले पोखरेललाई जुम्लाको शिक्षकमा सरुवा गर्ने निर्णय गरेको थियो । २०३६ सालताका पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर पोखरेलले अन्तिममा शिक्षण पेशा छाड्नुपरेको थियो ।
वकालत पेशामा रहेर नेपाल बार एसोसिएसनको सदस्य समेत रहेका पोखरेलले प्रखर अधिवक्ताको रुपमा समेत गण्डकीमा परिचय बनाएका छन् । जनपक्षीय कानूनी सेवामा समर्पित पोखरेलको सिंगो प्रयासबाट धेरै प्रजातन्त्रवादी राजबन्दीहरु तनहुँ र नवलपरासीका जेलबाट छुटेका थिए ।
राजनीतिक कारणले आफैं शारीरिक यातनाबाट गुज्रिएका पोखरेल एमनेस्टी इन्टरनेसनल नवलपरासीको संस्थापक अध्यक्ष समेत रहेका छन् ।
भारतको दरभंगाबाट बीए उत्तीर्ण उनी त्रिभुवन विश्वविद्यालयबाट बीएड र बीएल समेत पूरा गरेका छन् ।
यस्ता छन् पोखरेलको जीवनका प्रमुख घटनाक्रमहरू –
२०२२ देखि २०२८ – पिता गोवद्र्धन शर्मासँग भारतमा निर्वासित जीवन
२०२९ देखि २०३६ – काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कूलहरूमा अध्यापन
२०३५ – विद्यार्थी आन्दोलनमा सक्रिय नेतृत्व
२०३६ – जनमतसंग्रहमा सक्रिय नेतृत्व (तनहुँमा नेपाली कांग्रेस विजयी)
२०३७ – निर्वाचन बहिष्कारका क्रममा जेल चलान
२०४६ – प्रथम जनआन्दोलनका क्रममा जेल चलान
२०४८ – सत्याग्रहका क्रममा जेल चलान
२०४८ – निर्वाचनमा नेपाली कांग्रेस तर्फबाट नवलपरासी–४ बाट उम्मेदवार
२०४८–२०६७ – नेपाली कांग्रेस नवलपरासीको सभापति
२०६२/६३ – दोस्रो जनआन्दोलनका क्रममा जेल चलान
२०६७ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा निर्वाचित
२०७० – संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र ३ मा प्रत्यक्ष तर्फका लागि नेपाली कांग्रेसका उम्मेदवार भएपनि झिनो मतान्तरले हार
२०७४ – प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेश नवलपरासी पूर्व १(१) मा निर्वाचित
२०७५ – गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेतामा सर्वसम्मतले निर्वाचित
२०७८ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।