काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका कामकारवाही विवादमा परिरहेका बेला बागमती प्रदेशसभा बैठकमा अराजनीतिक अभिव्यक्ति आएको छ ।
बागमती प्रदेशका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीले यसरी नै छाड्ने हो भने देश खाइदिने भएकाले ओलीलाई मारेर आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका छन् ।
नाथुराम गोड्से भारतमा महात्मा गान्धीको हत्या गर्ने व्यक्ति हुन् । सांसद वैद्यले नेपालमा आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिए ।
सांसद वैद्यले प्रदेशसभा बैठकमा भने, ‘अहिले नेपालको परिप्रेक्ष्यमा कुरा गर्दाखेरी ओली यसरी आइराख्या छ, आफ्नो सत्ता बचाउनका लागि जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा यदि खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । खाइदिन्छ है । त्यसैले मेरो आग्रह के भने कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ? म बन्ने कि ?’
सांसद वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्ति सार्वजनिक भएपछि ओली निकट नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले प्रतिक्रिया जनाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले एमालेहरू सचेत हुनुपर्ने जनाएका छन् ।
उनले लेखेका छन्, ‘केपी ओली नमारे कांग्रेसले नजित्ने रहेछ, प्रधानमन्त्रीमाथि कुनै भयानक षड्यन्त्र हुँदै रहेछ । नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ ? ओली विरोधी गठबन्धन नै यसमा सामेल त छैन ? कांग्रेसको आधिकारिक भनाइ चाहिन्छ । एमालेहरू सचेत बन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।