काठमाडौं – गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले संसद विघटन गर्ने रोग विरुद्धको भ्याक्सिन आफू भएकाले प्रदेशसभा विघटन हुन नदिने घोषणा गरेका छन् ।
गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएको र विपक्षी गठबन्धनमा ३० मत मात्रै पुगेको बेला प्रदेशसभा विघटन हुनसक्ने चर्चाबीच मनाङेले विघटन हुन नदिने बताए ।
कूल ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ मत आवश्यक पर्छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको विपक्षी गठबन्धनमा ३० मत मात्रै पुगेको छ । मन्त्री मनाङेले साथ दिएमा कांग्रेसको पक्षमा बहुमत पुग्दै नेता पोखरेल मुख्यमन्त्री बन्ने देखिएको छ ।
बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै मनाङेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँपको वृक्ष र मुख्यमन्त्री गुरुङलाई आँपको संज्ञा दिए । उनले आँपको बोटमा अम्बा खोज्न नहुने भन्दै व्यंग्य गरे ।
मनाङेले भने, ‘आँपको बोटमा आँप नै फल्छ, बोट केपी ओली भयो, फल यिनीहरु भए । हामीले आँपको बोटमा अम्बा खोजिरहेका थियौं ।’
कसैको सरकार नबनेर प्रदेशसभा विघटन हुने अवस्था आएमा आफूले बहुमत पुग्ने पक्षलाई सघाउने उनले बताए । ‘कोरोना के हो र ? भ्याक्सिन लगाए सकिन्छ । संसद विघटन गर्ने बिमारको त भ्याक्सिन पनि छैन । भ्याक्सिन भनिएको राजीव गुरुङ रहेछ,’ उनले भने ।
बहुमत पुग्ने अवस्थामा पृथ्वीसुब्बालाई नै सहयोग गर्न सकिने भएपनि उनले बहुमत पुर्याउन नसकेको मनाङेले बताए । ‘पृथ्वीसुब्बा मेरो अहिले पनि दाई जस्तो हो, जोगाउनुपर्यो भनेपछि मैले साथ दिएँ । तलब होला, चुनाव जितेर आएकाले बजेट लगेर काम गरेको होला । उहाँहरुले जसरी बहुमत पुर्याउँछौ भनेको थियो, पुगेन,’ उनले भने ।
बिहीबार दिनभर सम्पर्कविहीन रहेका मनाङे साँझ सञ्चारकर्मीको सम्पर्कमा आएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।