काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राखेको विश्वासको मत लिने प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीको दुरुपयोग गर्दै नेपाली कांग्रेसका नेता पक्राउ गरेको छ ।
नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले लामालाई पोखराको खहरेस्थित पोखरा बुटिकमा बसेका बेला पक्राउ गर्न खोजेको थियो । तर लामा भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला प्रहरीले घेरा हालेर पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता सुभाष हमालले जानकारी दिए । लामालाई सोधपुछका लागि भन्दै वडा प्रहरी कार्यालय बैदाममा राखिएको जनाइएको छ ।
नेता लामाले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पक्राउ गरिएपनि राजनीतिक कारणबाट पक्राउ गरिएको स्रोतको दाबी छ ।
बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा राखेको विश्वासको मत लिने प्रस्ताव असफल भएपछि एमाले नेताहरूले आक्रोशित हुँदै प्रहरीको दुरुपयोग गर्न थालेका छन् ।
लामाले स्वतन्त्र सांसद तथा प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेलाई फकाएर एमालेको पक्षमा नलाग्न राजी गराएका थिए । युवा नेता लामाको राजनीतिक भूमिकाबाट एमाले सरकार आक्रोशित भएको आशंका छ ।
मन्त्री मनाङे बिहीबार प्रदेशसभामा उपस्थित नभई प्रदेशसभा विघटन हुने अवस्थामा नेपाली कांग्रेसलाई सघाउने निष्कर्षमा पुगेका छन् । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपाले समर्थन गरेका छन् ।
बिहीबार भएको मतदानमा समेत मुख्यमन्त्री गुरुङको विपक्षमा ३० मत खसेको छ । कूल ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ । सांसद मनाङेले कांग्रेसलाई समर्थन गरेमा स्पष्ट बहुमत पुग्ने र कांग्रेसको सरकार बन्ने देखिएको छ ।
कांग्रेसको सरकार बन्ने देखेपछि आत्तिएको एमाले सरकारले प्रहरी परिचालन गरेर कांग्रेस नेतालाई पक्राउ गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।