काठमाडौं – तत्कालीन नेकपा माओवादीले जनयुद्धका नाममा गरेको हत्याहिंसा, आतंक र अपराध कार्यमा रामबहादुर थापा ‘बादल’ शीर्षस्थ कमाण्डर नै थिए । त्यो आतंकमा माओवादी र राज्य पक्षका गरी १७ हजार व्यक्तिले ज्यान गुमाएको तथ्यांक छ ।
ज्यान गुमाउने मात्रै होइन, उत्तिकै संख्यामा घाइते, हजारौं महिला विधुवा र बालबालिका टुहुरा बनेका थिए । जनताका नाममा गरिएको त्यो आतंकको उपलब्धि जनताले देख्न भोग्न पाएका छैनन् ।
माओवादीका सुप्रिमो कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक सत्ताको स्वाद चाखे, काठमाडौंमा सम्पत्ति जोडे, बुहारीलाई मन्त्री बनाए । यसबाहेक जनताले के पाए ?
प्रचण्डका सारथि बादलले समेत बिहीबार कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा श्रीमती नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाएर ‘श्रीमती क्रान्ति’ पूरा गरेका छन् । महान् क्रान्ति गर्न भनेर जनताको हत्याहिंसा गरेका माओवादीहरू श्रीमतीलाई मन्त्री बनाउने अवस्थामा पुगेर टुंगिएका छन् ।
मन्त्री पदकै लागि बादलले प्रचण्डको साथ छाडेर ओलीतिर ढल्किएका थिए । त्यसयता बादल लगातार पुल्चोकस्थित मन्त्रीक्वार्टरमा सरकारी हावा खाइरहेका छन् । अब श्रीमतीलाई मन्त्री बनाइसकेपछि उनले निरन्तर सरकारी हावा खाइराख्न पाउने छन् ।
सांसद नहुँदा पनि पटक–पटक मन्त्री बनेको भन्दै सर्वाेच्च अदालतले पदमुक्त गरेपनि प्रधानमन्त्री ओलीले मन्त्री बनाइहाल्छन् कि भनेर करीब २ हप्तादेखि आशमा बसेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरीले अब मन्त्रीक्वार्टर छाड्नुपर्ने भएको छ । तर बादलको क्रान्ति सफल भएकाले क्वार्टर छाड्नुपर्ने छैन ।
ओलीले आज पूर्वगृहमन्त्री बादलकी श्रीमती नैनकला थापालाई मात्र मन्त्री बनाएका छन् ।
यससँगै पूर्व माओवादीबाट एमालेमा प्रवेश गर्ने बादलबाहेक ५ नेताको बिजोग भएको छ । न त सांसद पद नै रह्यो, न त मन्त्री नै बच्यो । एमालेलाई पनि प्रभु साह र टोपबहादुर रायमाझीबाहेक अरु सबै घाँडा नै सावित हुने निश्चित देखिएको छ ।
प्रचण्ड र बादलहरूले विभिन्न कालखण्डमा सत्ताको स्वाद लिइराख्दा सहिद परिवार, घाइते, अपाङ्ग, विधवा, टुहुराहरूको बेहाल भएको छ । माओवादी आतंक जनतासामु नराम्ररी बदनाम भएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।