काठमाडौं – संघदेखि प्रदेश सरकारसम्म सत्ता समीकरण फेरबदलको अभ्यास भइरहेका बेला राजनीतिमा एकपछि अर्काे हलचल देखिँदैछन् । संघमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन छ भने प्रदेश २, गण्डकी र सुदूरपश्चिममा फेरबदलका अभ्यास भइरहेका छन् ।
यस्तो बेला नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतालाई बलियो बनाउने प्रयासमा माधवकुमार नेपाल पक्षलाई फकाएर विपक्षी गठबन्धनलाई कमजोर बनाउन कोसिस गरिरहेका छन् ।
हाल एमाले नेता नेपाल नेपाली कांग्रेस र माओवादी केन्द्र सम्मिलित विपक्षी गठबन्धनमा सहभागी छन् । सोमबार कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा भएको देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीचको भेटमा यिनै राजनीतिक हलचलबारे छलफल भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार ३ नेताबीच भएको छलफलमा प्रधानमन्त्री ओलीको ६ बुँदे प्रस्तावबारे माधवकुमार नेपालको बुझाइ, सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने तथा प्रदेश २ सरकारमा कांग्रेस र माओवादीको सहभागिता र गण्डकी प्रदेश सभामा कांग्रेस नेतृत्वमा सरकार बनाउन कोसिस गर्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले नेता नेपाल पक्षका लागि सार्वजनिक गरेको ६ बुँदे लिखित प्रस्ताव प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दालाई प्रभाव पार्ने चालबाजी मात्रै भएको नेताहरूबीच छलफल भएको छ । ओलीको चालबाजीमा नेपाल पक्ष नफस्ने सन्देश दिन तीनै नेताबीच भेट गरिएको स्रोतले जनाएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेश, प्रदेश २ र गण्डकी प्रदेशमा विकसित भएका घटनाक्रममा एकजुट भएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि मंगलबार विश्वासको मत लिने भएका छन् । ३ नेताबीच तत्काललाई सुदूरपश्चिममा भट्ट नेतृत्वकै सरकारले बजेट ल्याउने गरी विपक्षी गठबन्धन अघि बढ्ने विषयमा सहमति जुटेको स्रोतले जनाएको छ ।
जसपा उपेन्द्र यादव पक्ष नेतृत्वको प्रदेश २ सरकारमा कांग्रेस र माओवादी सहभागी हुनेबारे समेत नेताहरूबीच छलफल भएको छ ।
गण्डकी प्रदेशमा नयाँ सरकार नबन्ने र प्रदेशसभा नै विघटन हुनसक्ने अवस्था आएपछि प्रदेशसभा जोगाउन गर्नुपर्ने प्रयासबारे समेत नेताहरूबीच छलफल भएको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।