काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले बृहत् कम्युनिस्ट मोर्चा बनाउने तयारी थालेका छन् ।
आफूले स–साना कम्युनिस्ट घटकलाई जोड्दै एमालेलाई अहिलेको अवस्थामा ल्याएको र अहिले छिन्नभिन्न बनेर बसेका कम्युनिस्ट घटकलाई पनि जोड्न सके ठूलो कम्युनिस्ट पार्टी बनाउन सकिने नेता नेपालको विश्लेषण रहेको छ ।
‘अहिले एमालेको मात्रै एकताका बारेमा नसोच्नुस्, कसैले एमाले एकताका बारेमा बुझ्लान् तर हामी कम्युनिस्ट पार्टीहरूका बीचको एकताका पक्षमा छौं । बृहत् रूपले कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा छौं,’ नेता नेपालको भनाइ उदृत गर्दै स्रोतले भनेको छ ।
नेपालले केपी ओलीका कारण कम्युनिस्ट आन्दोलन छिन्नभिन्न हुने अवस्था आएको र अवसरका लागि मात्रै प्रयोग गरेकाले एमाले पनि ध्वस्त भएर गएकाले कम्युनिस्ट आन्दोलनलाई बृहत् रूपमै सँगालेर लैजानुपर्ने आवश्यकता रहेको बताए । नेपालले यो विषयमा माओवादीबाट छुट्टिएर बसेका नेता र एमालेबाट विश्राम लिएका नेतासँग एक चरण कुराकानी समेत गरिसकेका छन् ।
आफैंले बनाएको घरबाट ओलीले निकाल्न खोजेपछि नेपालले आफू निकटका नेताहरुसँग नयाँ दलको तयारी र बृहत् कम्युनिस्ट मोर्चाबारे कुराकानी सुरू गरिसकेका छन् ।
सार्वजनिक रूपमा नेता नेपालले संघर्ष र रूपान्तरण सहितको एकता खोजिरहेको बताएका छन् । ‘अहिले संघर्ष चलिरहेको छ, ओली रूपान्तरण भए एकता हुन्छ, रूपान्तरित भएनन् भने संघर्षकै नीति लिन्छौं,’ नेता नेपालले भने ।
नेपालका अनुसार ओली सच्चिने सम्भावना निकै कम छ । ओली नसच्चिने निष्कर्ष निकालेकै कारण आफूहरु संघर्षको चरणमा प्रवेश गरिसकेको नेपालले बताएका छन् । ‘ओली सच्चिने सम्भावना निकै कम छ त्यसैले हामी अन्तिम बिन्दुमा पुगेका छौं, पार्टी पुनर्गठनका पक्षमा छौं,’ नेता नेपालले भने ।
गत आईतवारदेखि १ हप्तासम्म पार्टीका विभिन्न तह र तप्कासँग नेपालले छलफल गरेका थिए । उनले सबैजसो जनवर्गीय संगठन, पार्टीका समानान्तर जिल्ला कमिटी, केन्द्रीय सदस्य तथा सांसदसँग छलफल गरेका थिए । नेपालले अब धेरै दिन कुरेर बस्न नसक्ने भन्दै आफू निकटका नेताहरुको राजनीतिक भविष्य सुरक्षित बनाउन पनि नयाँ दल खोल्नुपर्ने बाध्यता रहेको बताउन थालेका छन् ।
ओली पक्षका नेताले भने नेपालकै कारण पार्टी विभाजनको डिलमा पुगेको बताउँदै आएका छन् । दोस्रो तहका नेता पार्टी एकताको पक्षमा रहेका बेला नेता नेपालले अलि बढी नै अडान लिएको उनीहरुले बताएका छन् । ओली पक्षले नेता नेपालसँगै कुराकानी गरेर विश्वास दिलाउन सकेमात्रै पार्टी एकता सम्भव रहेको बताएको छ ।
ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसाल र योगेश भट्टराईले अनौपचारिक संवाद गरिरहेका छन् । वार्ता परिणाममुखी हुन नसकेपछि यस विषयमा नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठकमा शंका समेत व्यक्त गरिएको थियो ।
नेपाल पक्षले आफूहरु सार्थक र परिणाममुखी संवादको पक्षमा रहेको जनाएको छ । केन्द्रीय कमिटी बैठकको १० बुँदे निर्णय आईतवार सार्वजनिक गर्दै नेपाल–खनाल पक्षले आफ्नो अडान कायमै रहेको सार्वजनिक गरेको छ । नेपाल पक्षले यसअघि बुझाएको ६ बुँदे एकताको प्रस्तावलाई आधार मानेर नेताहरुमाथि कारवाही फिर्ता हुनुपर्ने शर्त पनि अगाडि सारेको छ ।
‘हामी पार्टीको एकता तथा सार्थक र परिणाममुखी वार्ताको पक्षमा छौं,’ नेपाल पक्षले आईतवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर केपी ओलीबाट गत फागुन २८ गते पार्टी विधानविपरीत गरिएको फुटपरस्त निर्णयपछि ३ महिना बित्न थालिसकेको छ । यस अवधिमा प्रधानमन्त्री समेत रहनुभएका केपी ओलीबाट नेपालको संविधान र पार्टीको विधान विपरीत विभिन्न गतिविधि भएका छन् ।’
पार्टीमा एकता कायम गर्ने दिशामा उन्मुख हुनुको साटो ओलीबाट अन्तर्विरोध र विभाजन बढाउने काम कुरा भइरहेको ठहर नेपाल पक्षले गरेको छ । ‘यस्तो अवस्थामा हामीले अघि सारेका कुराहरु तत्काल निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुने गरी सहमति सार्वजनिक भए मात्र अध्यक्ष केपी ओली पार्टी एकताको पक्षमा रहनुभएको ठहरिने छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘साथै केन्द्रदेखि स्थानीय तहसम्म कथित स्पष्टीकरण, निलम्बन र निष्कासन लगायतका सबै कारवाही तत्काल खारेज गरिनुपर्छ ।’ अन्यथा कुनै पनि प्रकारको जालझेलमा नअल्झिने विज्ञप्तिमा उल्लेख छ ।
‘पार्टीको नवौं महाधिवेशनको मार्ग निर्देशन र निर्णयअनुरूप सिंगो पार्टी एकताबद्ध र प्रभावकारी रूपमा अगाडि बढोस् भन्ने हाम्रो चाहना हो,’ विज्ञप्तिमा उल्लेख छ ।
नेपाल पक्षले संसद पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा परेको निवेदनमा गरिएको हस्ताक्षर फिर्ता लिने हल्ला निराधार भएको समेत जनाएको छ । ‘नेपालको संविधान, लोकतन्त्र र प्रतिनिधिसभाको रक्षाका लागि सर्वोच्च अदालतमा दायर रिट निवेदनबाट हस्ताक्षर फिर्ता लिने प्रायोजित हल्ला निराधार हो,’ विज्ञप्तिमा उल्लेख छ ।
नेपाल पक्षले प्रधानमन्त्री ओलीबाट दक्षिणपन्थी बिसर्जनवादी चिन्तन र व्यवहारका साथ बाह्य शक्तिसामु लम्पसार पर्दै संविधान, लोकतन्त्र र संसदमाथि आक्रमण भएको आरोप लगाएको छ । ‘यस सिलसिलामा २–२ पटक असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको, अध्यादेशमार्फत शासन चलाउन खोजिएको र राष्ट्रिय हितमाथि घात गरिएकाले संविधान, लोकतन्त्र, संसद, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका लागि अन्य वामपन्थी र लोकतन्त्र पक्षधर दलहरुसँग सहकार्यका साथ अघि बढनुपर्ने स्थिति सिर्जना भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
देशमा अनिष्ट हुन नदिन र राजनीतिक स्थायित्व कायम गर्न देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध सबै वामपन्थी र लोकतन्त्रवादी दल, नागरिक समाज, प्रबुद्ध समुदाय तथा राजनीतिकर्मीका बीच एकता, पारस्परिक विश्वास र समझदारी कायम गरी अगाडि बढ्नुपर्ने आवश्यकता नेपाल पक्षले औंल्याएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।