काठमाडौं – मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकारमा आईतबार नेपाली कांग्रेसका २ सांसद मन्त्री बनेका छन् ।
कर्णालीमा मन्त्री बनेसँगै कांग्रेस सत्तारुढ दल बनेको छ । कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त भएका छन् ।
कर्णालीपछि अब २ नम्बर प्रदेशमा समेत कांग्रेसले मन्त्री पाउने देखिएको छ । कांग्रेसले २ नम्बर प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका मुख्यमन्त्री लालबाबु राउतसँग सत्ता साझेदारीबारे निर्णय गर्ने अधिकार संसदीय दलका नेता रामसरोज यादवलाई प्रदान गरेको छ ।
आईतवार बसेको कांग्रेस संसदीय दलको बैठकले नीति कार्यक्रम, बजेट र सत्ता साझेदारीबारे निर्णय गर्ने अधिकार नेता यादवलाई दिएको छ ।
दलका नेता यादवले भने, ‘प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, बजेट र केन्द्रकै गठबन्धन अनुसार सत्ता साझेदारी गर्न कुन सांसदलाई कतिखेर कहाँ बोलाउनुपर्ने र छलफल गर्नुपर्ने भनी निर्णय गर्ने अधिकार मलाई दिएको छ ।’
२ नम्बर प्रदेशमा नीति तथा कार्यक्रम पारित, नयाँ सत्ता समीकरणका लागि निर्णायक देखिएकाले जसपा कांग्रेससँग सत्ता साझेदारीका लागि निरन्तर छलफल रहेको छ ।
नेता यादवले जसपा अध्यक्ष उपेन्द्र यादवसँग सत्ता साझेदारीका विषयमा कुराकानी भएको बताएका छन् । ‘केन्द्रकै गठबन्धन अनुसार सत्ता साझेदारी, पावर शेयरिङको विषय र सँगै जाने विषयमा उहाँसँग छलफल भएको छ,’ उनले भने ।
औपचारिक रूपमै जसपा विभाजित हुने अवस्थामा पुगेपछि २ नम्बर प्रदेशमा महन्थ ठाकुर पक्षका मन्त्री तथा राज्यमन्त्रीलाई हटाएर नेपाली कांग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउन जसपाले अन्य दलसँगको छलफललाई तीब्रता दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।