काठमाडौं – गत प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि देशैभर प्रतिपक्षमा बसेको नेपाली कांग्रेस पहिलोपटक सरकारमा सहभागी हुँदै सत्तारुढ दल बनेको छ ।
नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारसँग मिलेर कांग्रेसले २ मन्त्री पाएर प्रदेशमा सत्तारुढ दल हुने इतिहास रचेको छ ।
कम्युनिस्ट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसको कोटाबाट २ जनालाई मन्त्री नियुक्त गर्दै शपथ कार्यक्रम समेत भएको छ ।
कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त भएपछि आईतबार शपथ गराइएको छ ।
नेपाली कांग्रेस संसदीय दलको बैठकले बीसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेपछि मुख्यमन्त्री शाहीले शनिवार साँझ प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले पनि शनिबार साँझै मन्त्री नियुक्त भएको जानकारी दिएको थियो । नियुक्तिपछि आईतबार शपथ भएको हो ।
नेपाली कांग्रेसले गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसदमा विश्वासको मत दिएर साथ दिएको थियो । त्यसक्रममा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका ४ जना सांसदले फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीको सत्ता जोगाएका थिए । गत शुक्रवार साँझ कांग्रेसले १३ बुँदे आचारसंहितासहित २ जनालाई सरकारमा पठाउने निर्णय गरेको थियो ।
कांग्रेसका २ जना मन्त्री थपिएसँगै कर्णालीको मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ । मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित ३ जना माओवादी केन्द्रका रहेका छन् भने एमाले माधव पक्षका ३ जना र कांग्रेसका २ जना सदस्य रहेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।