काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउनुपर्ने बताएका छन् ।
शुक्रवार उपप्रधान तथा शहरी विकास मन्त्रीको शपथ खाएका महतोले बहुराष्ट्रिय राज्यको बहस निकाल्दै विवादित अभिव्यक्ति दिएपछि नेता भट्टराई आक्रोशित बनेका छन् ।
नेता भट्टराईले महतोको बोलीले राम्रो संकेत नगरेको र देशलाई फेरि द्वन्द्वतर्फ फर्काउने अभिव्यक्तिमाथि लगाम लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै नेता भट्टराईले पहिलो र दोस्रो संविधान सभामा असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस नवनियुक्त उपप्रधानमन्त्री महतोले पुनः उठाएको भन्दै आपत्ति व्यक्त गरे ।
नेता भट्टराईले शुक्रवार राति फेसबूकमा लेखेका छन्, ‘पहिलो र दोस्रो संविधानसभामै असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्रीले पुनः उठाएछन् । संकेत राम्रो छैन । देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्तिमाथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यू ।’
नेपालको संविधानको धारा ३ ले राष्ट्रको परिभाषा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भनेको बताउँदै उनले विविधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता रहेको जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।