आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीविरुद्ध यस्तो योजना बनाउँदैछ माधव नेपाल पक्ष

केपी ओलीविरुद्ध यस्तो योजना बनाउँदैछ माधव नेपाल पक्ष

  • मिडिया डबली
  • शुक्रवार, जेठ २१ २०७८

  • 4.3K
    SHARES

  • केपी ओलीविरुद्ध यस्तो योजना बनाउँदैछ माधव नेपाल पक्ष

    काठमाडौं – सत्तारुढ नेकपा एमाले माधवकुमार नेपाल पक्षका नेताले पार्टी विवाद समाधान गर्न बल अध्यक्ष केपी शर्मा ओलीको कोर्टमा भएको बताएका छन् ।

    बिहीवार नेपाल पक्षका केन्द्रीय सदस्यको बैठकमा अधिकांशले अध्यक्ष ओलीले संकट पर्दा मात्रै संवाद गर्ने, विभिन्न प्रलोभन देखाउने तर संकट टरेपछि पुरानै स्वभाव देखाउने भएकाले विश्वास गर्न नसकिने जनाएका छन् ।

    विश्वासिलो आधार तयार पारी विवाद सुल्झाउन ओली नै अग्रसर हुनुपर्नेमा जोड दिइएको छ ।

    नेता माधव नेपाल निकटका केन्द्रीय सदस्य विरोध खतिवडाका अनुसार बैठकमा ओलीले जालझेल गरेको, २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउँछु भनेर पाँचचोटी भनेको तर नफर्काएको, जसले गर्दा विश्वास गर्ने आधार नभएको धारणा आएको छ ।

    ‘आज ४–५ थरि विषय उठेका छन् । मुख्यगरी ओलीले विश्वास गुमाएको कुरा उठेको छ । नेताहरूलाई कारवाही गर्ने अनि वार्ताको कुरा गरेर अलमल्याउने कुरा उठेको छ । संविधानविपरीत कार्य गरेको कुरा उठेको छ । तर पनि सम्मानजनक एकताको विषयमा साथीहरु एकमत हुनुभएको छ । सम्मानजनक एकता नभए विकल्पको विषय पनि तदारूकताका साथ उठेको छ,’ उनले भने ।

    खतिवडाका अनुसार अहिले नै सबै विषय टुंग्याउने भन्दा पनि संवादको नाममा अल्मल्याउने काम गर्न नहुने धारणा अधिकांशले राखेका थिए । ‘ओलीले धेरैजसो समय संकटका बेला मात्रै जेठ २ गतेमा फर्कन्छु भन्ने संकट टरेपछि पुरानै अवस्थामा फर्कने गरेका कारण विश्वास गर्ने आधार नभएको हो । यो विषय टड्कारो रुपमा उठेको छ,’ उनले भने ।

    केन्द्रीय सदस्य ठाकुर गैरेका अनुसार बैठकमा मुख्यगरी ६ वटा विषय उठेका छन् । २०७५ जेठ २ गतेको सांगठनिक संरचनामा फर्कन सबैजसो नेता सहमत भएका छन् । त्यसका लागि ओलीले विश्वासको वातावरण बनाउनुपर्ने, पार्टी विभाजन गर्नु हुँदैन भन्नेमा सबैको सहमति तर माथिदेखि तलसम्म विचार समूहको आधारमा सम्मानजनक एकता नभए विकल्प दिनुपर्ने, नेताहरुमाथि भएको कारवाही फिर्ता गर्नुपर्ने, अध्यादेश लगायत संसद विघटनजस्ता प्रकरणमा भएका कमजोरी स्वीकार गर्नुपर्ने विषयले बैठकमा प्राथमिकता पाएका थिए ।

    ‘पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्काउँछु मात्र भनेर हुँदैन । सबै संरचनालाई जेठ २ गतेमै फर्काउनुपर्छ भन्नेमा सबै नेताको एउटै धारणा रहेको छ । एमाले माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठकमा अधिकांशले अध्यक्ष ओलीले संकट पर्दा मात्रै संवाद गर्ने, विभिन्न प्रलोभन देखाउने तर संकट टरेपछि पुरानै स्वभाव देखाउने भएकाले उनलाई विश्वास गर्न नसकिने बताएका छन् । उनीहरुले विश्वासिलो आधार तयार पारी विवाद सुल्झाउन ओली नै अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । तलदेखि माथिसम्म सम्मानजनक अवस्थामा विवाद निरुपण हुनुपर्ने कुरा उठेको छ । साथीहरू पार्टी विभाजन हुनु हुँदैन भन्नेमा सहमत हुनुहुन्छ,’ गैरेले भनेका छन् ।

    उनका अनुसार ओली पक्षसँग संवाद गरिरहेका नेताहरुले पनि बिहीवारको बैठकमा अहिलेसम्मको प्रगतिबारे जानकारी दिएका थिए ।  

    नेता नेपालले एकताका लागि भइरहेका संवादलाई औपचारिकता दिएर अन्तिम टुंगोमा पुर्‍याउन प्रतिवद्धता, योजना, कार्यक्रम केही पनि नआएकाले विश्वास गर्न नसकिने बताएका थिए । ‘त्यसैले उनीहरुले हाम्रा साथीहरुसँग अनौपचारिक कुराकानी गरे भन्दैमा सहमति भइहाल्यो भनेर बाहिर आए पनि त्यो गलत हो । ओली सच्चिए त कम्युनिस्ट आन्दोलनलाई पनि राम्रै हुन्थ्यो,’ नेता नेपालको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने ।  

    भर्चुअल रुपमा आयोजित बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित ४० जना जतिले बोलेका थिए । खनालले आफूहरुको उमेर घर्कंदै गरेको कारण अब युवा पुस्ताले पार्टी निर्माणमा अग्रसरता लिनुपर्ने धारणा राखेका थिए । पाण्डे र भुसालले वरिष्ठ नेता नेपाल र खनालको जानकारीमै वार्ता चलिरहेको र त्यहाँ भइरहेका सबै विषयमा नियमित रुपमै जानकारी गराएको बताएका थिए । उनीहरुले पार्टी एकता जोगाउने कि नजोगाउने, बल अध्यक्ष ओलीको कोर्टमा रहेको ‘ब्रिफिङ’ गरेका थिए । उनीहरुले संस्थापन पक्षका दोस्रो तहका नेतासँगको संवाद सकारात्मक रहेको जानकारी गराउँदै आफूहरुका मागमा ओली सहमत भए कुरा मिल्न सक्ने बताएका थिए ।

    ‘अहिले जे–जति कुराकानी भएको छ त्यो सकारात्मक नै छ तर ओलीजीले के चाहनुभएको छ, अब केही दिनमै थाहा भइहाल्छ,’ नेता भुसालको भनाइ उदृत गर्दै स्रोतले भन्यो । पाण्डे, भुसालसहित योगेश भट्टराई र गोकर्ण विष्टले ओली पक्षका दोस्रो तहका नेताहरु विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतसँग संवाद गर्दै आएका छन् । नेपाल पक्षका अन्य केन्द्रीय सदस्यले उनीहरुको संवाद नाटक मात्रै भएको टिप्पणी पनि गरेका छन् । यसरी आपसमै अविश्वासको वातावरण बन्ने अवस्था आउनु चिन्ताजनक भएको टिप्पणी नेता राजेन्द्र राईले बैठकमा गरेका थिए ।

    केन्द्रीय सदस्यहरुको बैठक शुक्रवार पनि बस्ने भएको छ । शुक्रवार स्थायी कमिटी सदस्य र बाँकी रहेका केन्द्रीय कमिटी सदस्यले आफ्ना धारणा राख्ने बताइएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend