काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ अध्यादेश ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
सिफारिस गरिएको अध्यादेशमा कार्यस्थलमा रहेका स्वास्थ्यकर्मीलाई आक्रमण गरेमा ४ वर्षसम्म कैद हुनसक्ने प्रावधान राखिएको स्रोतले जनाएको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गर्दै सिफारिस गरिएको छ ।
कोरोना भाइरस संक्रमणको महामारीबीच ज्यान जोखिममा राखेर अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि नै आक्रमण भइरहेका घटना देखिएपछि अध्यादेशमार्फत कडा कानून ल्याउन सरकारको ध्यानाकर्षण गराइएको थियो ।
विभिन्न अभियान्ता र सरोकारवालाको मागअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । अध्यादेशको मस्यौदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश भएपछि पारित भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ऐन संशोधन गर्नका ल्याउन अध्यादेशको मस्यौदा तयार गरेर मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो । मस्यौदा मन्त्रिपरिषद्बाट पारित भइसकेकाले अब अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी हुनेछ । प्रतिनिधिसभा अधिवेशन चालू नभएको अवस्थामा अध्यादेश ल्याउन पाउने संवैधानिक व्यवस्था छ ।
मन्त्रिपरिषद्बाट पारित अध्यादेशमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई ४ वर्षसम्म कैद सजाय गर्न सकिने व्यवस्था रहेको स्रोतले जनाएको छ ।
अध्यादेशमार्फत सजाय सम्बन्धी व्यवस्थामा परिवर्तन गरेर स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रूपमा आधात पुर्याउने तथा स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई २ लाख रुपैयाँसम्म जरिवाना वा ४ वर्षसम्म कैद वा दुबै सजाय हुने प्रावधान लागू गरिने भएको छ ।
स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी वा स्वास्थ्यकर्मीलाई कुनै किसिमको धम्की दिने, मानसिक तनाब दिने वा अपमानजनक व्यवहार गर्ने गरेमा ५० हजार रूपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था अध्यादेशमा गरिएको छ ।
कुनै किसिमले स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा बाधा पुर्याउने कार्य गरेमा २० हजार रुपैयाँसम्म जरिवाना वा ३ महिनासम्म कैद वा दुबै सजाय हुने व्यवस्था अध्यादेशमा छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।