काठमाडौं – नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रक्रियामा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको पक्षमा हस्ताक्षर नगरेका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको पद बर्खास्त भएको छ ।
राष्ट्रिय जनमोर्चाले थापालाई कारवाही गर्दै निष्कासित गरेपछि उनी पदमुक्त भएका हुन् ।
राजनीतिक दल सम्बन्धी ऐन अनुसार थापालाई कारवाहीका लागि जनमोर्चाले बिहीबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएको थियो । बिहीबार नै बसेको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले जनमोर्चाको पत्र पढेर सुनाएसँगै थापाको सांसद पद गुमेको जनाइएको छ ।
गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय जनमोर्चाले गर्दा समेत सांसद थापाले हस्ताक्षर गरेका थिएनन् ।
थापा २०७४ सालको निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका हुन् । थापा तटस्थ बस्दा गण्डकीमा कांग्रेसको सरकार नबनेर नेकपा एमालेका मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङको सरकार कायमै रहेको थियो ।
उनी कारवाहीमा परेसँगै अब प्रदेश सभामा जनमोर्चाका २ जना सांसद मात्र बाँकी छन् । मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा मतदान गर्ने दिन अनुपस्थित रहेका खिमविक्रम शाहीले आफू पार्टी निर्णयकै पक्षमा रहेको जनाएपछि कारवाही गरिएको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।