काठमाडौं - केही दिनयता राष्ट्रपति विद्यादेवी भण्डारीले चीन, भारत र अमेरिकाका राष्ट्रपतिलाई पत्र लेख्दै कोभिडविरुद्धको खोप सहयोग गर्न आग्रह गरेकी छन् ।
पछिल्लोपटक उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि खोप उपलब्ध गराइदिन भन्दै पत्र लेखिन् । राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई हस्तान्तरण गरेका थिए ।
यसअघि उनले भारतका राष्ट्रपति रामनाथ कोविद र चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पत्र लेख्दै खोप सहयोग गर्न अनुरोध गरेकी थिइन् । चीनले भने नेपालका प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेर पछि मात्र १० लाख डोज अनुदानमा दिने सहयोग गरेको थियो ।
राष्ट्रपतिले पत्र लेख्नेवित्तिकै चीनले दिएको होइन । तर, ओली गुटले त्यसलाई व्यापक प्रचार गरेको थियो । नेपालमा राष्ट्रपति संवैधानिक पद हो । प्रधानमन्त्री कार्यकारी प्रमुख हुन् । तर, प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिलाई अघि सारेर खोप सहयोग माग गरिरहेका छन् ।
तर नेपाल सरकारको यो रणनीतिको भारतले भने ठूलो आपत्ति जनाएको छ । पछिल्लो समय ओलीको चीनसँग हार्दिक सम्बन्ध छैन । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पारित नगरेको भन्दै अमेरिका पनि ओलीसँग खुसी छैन ।
त्यसैले ओलीले राष्ट्रपति भण्डारीलाई अघि सार्दै खोप माग्दै आएको बताइएको छ । कोरोना भाइरस महामारीले संसारका झन्डै तिहाइ देश प्रभावित भएका छन् । पहिलो र दोस्रो लहरले युरोप, अमेरिका र एसियाका धेरै देशमा ठूलो जनधनको क्षति गरेको छ ।
कोभिड सुरु भएको डेढ वर्ष भइसकेको छ । यसबीचमा कोभिडविरुद्धको खोप पनि आइसकेको छ । अमेरिका, चीन, भारतलगायतका देशले करोडौं नागरिकलाई भ्याक्सिन लगाइसकेका छन् । अमेरिकाले त जनसंख्याको करिब ६० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसकेको छ । अब बालबालिका मात्र बाँकी छन् ।
भारत र चीनले दैनिक ४० लाखलाई खोप लगाउँदै आएका छन् । कोभिडविरुद्धको खोप अहिले राजनीतिक अस्त्र बनेको छ । ठूला र विकसित देशले कोभिडविरुद्धको खोप आफूले किनेर लगेका छन् । तर, गरिब र अविकसित देश मारमा परेका छन् ।
विश्व स्वास्थ्य संगठनले पनि यस बारे केही गर्न सकेको छैन । अझ नेपाल जस्तो आफैंले खोप उत्पादन गर्न नसक्ने र आर्थिक रूपमा तन्नम राष्ट्रले खरिद गर्नसक्ने कुरै भएन । तैपनि नेपालमा अहिलेसम्म ४० लाख डोजभन्दा बढी खोप आइसकेको छ । तीमध्ये अधिकांश अनुदानमा आएका हुन् ।
सरकारले खरिद गरेको १० लाख डोज मात्र आएको छ । चीन, भारतलगायतका देशले अनुदानमा खोप दिएका छन् । बेलायतले पनि दिने प्रतिबद्धता जनाएको छ । भारतले सुरुमै अनुदान सहयोगमा १० लाख डोज खोप उपलब्ध गराएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।