काठमाडौं – नेकपा एमालेभित्र बढ्दै गइरहेको विवादबीच ३ जना मन्त्रीलाई कारवाहीको अन्तिम तयारी भइरहेको खुलासा भएको छ ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बसेको पार्टी स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरूलाई सरकार छाड्न दिएको निर्देशन अवज्ञा गर्ने ३ मन्त्रीलाई कारवाही हुने भएको हो ।
पार्टी निर्णय र निर्देशन अवज्ञा गर्दै सरकारमै रहिरहने ३ मन्त्रीलाई एमाले प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण चित्तबुझ्दो नभएमा वा स्पष्टीकरण नदिएमा कारवाही हुने चेतावनी दिइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।
केन्द्र पार्टीको निर्णयविपरीत काम गरेको भन्दै प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले तीनै मन्त्रीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।
केन्द्र पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेपछि बुधवार बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले समर्थन कायमै राख्ने निर्णय गरेको थियो । बालुवाटारमा गत सोमबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
सुदूरपश्चिम एमाले संसदीय दलमा माधव नेपाल पक्षको बहुमत रहेको छ र प्रदेश सरकारमा रहेका तीनै जना मन्त्री माधव नेपाल पक्षकै हुन् । प्रदेश सभामा एमालेभित्र नेपाल पक्षका १८ र ओली पक्षका ६ जना सांसद रहेका छन् ।
पढ्नुहोस् स्पष्टीकरण पत्र –



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।