काठमाडौं – जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतबाट ८ महिनाअघि ल्याएको रेल अझै पालभित्र थन्किएको अवस्थामा रहेको छ ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी अध्यादेश समेत जारी गरिसकेको छ ।
पटक–पटक समय तोक्दै आए पनि जनशक्तिदेखि कानून अभाव लगायत कारण रेल सञ्चालन हुन सकिरहेको छैन ।
भारतबाट रेल ल्याइए पनि सुरूदेखि नै सञ्चालन गर्न जनशक्ति, संरचना, कानून अभाव तथा अन्तरदेशीय अनुमति समस्या रहँदै आएको छ । सरकारले पछिल्लोपटक चैतमा सबै तयारी पूरा भएको जनाउँदै चाँडै सञ्चालन हुने जनाएको थियो ।
रेल्बे कम्पनीमा यसअघिका झण्डै ६० अस्थायी कर्मचारी र १२ स्थायी कर्मचारी छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निजामती कर्मचारी काजमा ल्याएर जनशक्ति अभाव कम गर्ने काम गरिएको छ ।
कम्पनीले रेल चलाउन दक्ष २६ भारतीय कर्मचारी ल्याएर सञ्चालन तयारी गर्दै आएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते रेल ल्याइएको हो ।
रेलमा १ हजार २ सयदेखि १ हजार ३ सयसम्म यात्रु बसेर र उभिएर यात्रा गर्न सक्ने जनाइएको छ । सन् २०१४ देखि बन्द नेपालको १ मात्र रेलमार्ग पुनः सञ्चालन गर्ने व्यवस्थासहित सरकारले गत असोजमा १ अर्ब रुपैयाँभन्दा बढी खर्चेर भारतबाट २ रेल किनेर ल्याएको थियो । हाल ती रेल प्लास्टिक बेरेर सशस्त्र प्रहरीको सुरक्षामा राखिएका छन् ।
३४ किलोमिटर जनकपुर–जयनगर रेलमार्ग ब्रोडगेजमा विस्तार भएको र यो मार्गमा २०७५ पुसमै रेल सञ्चालन घोषणा गरिएको थियो । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।