काठमाडौं - सत्तारुढ एमाले अहिले फुटको संघारमा छ । नेताहरूको कार्यशैली र निर्णय हेर्दा अनौपचारिक रूपमा पार्टी विभाजन भइसकेको देखिन्छ । तर, कानुनी र व्यावहारिक रूपमा भने पार्टी एकै छ ।
एउटा गुटको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को गुटको नेतृत्व माधवकुमार नेपालले गरेका छन् । माधवलाई झलनाथ खनालले साथ दिएका छन् । एमालेको जीवनमा माधवले १५ र झलनाथले १२ वर्ष नेतृत्व दिएका थिए । त्यसैले माधव र झलनाथविनाको एमालेको अस्तित्व कस्तो रहने होला भन्ने जिज्ञासा पनि देखिएको छ ।
तर, अहिले सबैभन्दा बढी चासो योगेश भट्टराई र गोकर्ण विष्टको ‘मुभ’ बारे देखिएको छ । योगेश र गोकर्ण माधव र झलनाथ पक्षको खम्बा मात्र होइन, एमाले पार्टीकै भविष्यको नेतृत्व लिने क्षमता भएका युवा नेता हुन् । दुवैले अहिलेसम्म माधव पक्षलाई साथ दिँदै आएका थिए । तर, संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने निवेदनमा भने दुवैले हस्ताक्षर गरेनन् ।
योगेश र गोकर्ण पछिल्लो समय माधव नेपाल पक्षबाट केही टाढा देखिएका छन् । २७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिएको दिन भने यी दुई पनि अनुपस्थित थिए । तर, पछिल्लो पटक वैकल्पिक सरकारका लागि नेपाल पक्षका सांसदले हस्ताक्षर गर्दा भट्टराई र विष्ट भने यो पक्षमा खुलेनन् ।
नेता योगेशले एमालेलाई फुटबाट बचाउन सकिन्छ कि भनेर आफू ब्याक भएको बताएका छन् । विष्टले भने सोमबार विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा दायर गर्ने रिटमा एमालेका सांसदबाट हस्ताक्षर गर्न मानेनन् । उनी स्वास्थ्यमा समस्या भएकोले घरमै आराम गरिरहेका छन् ।
उनीहरूको निर्णयले ओली गुटमा खुसियाली छाएको छ । माधव पक्ष भने अलमलमा परेको छ । यदि दुवै नेता ओली गुटमा सामेल भए भने पनि उनीहरूलाई अगाडि बढ्ने मौका नदिइने स्पष्ट छ । किनभने सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल जस्ता खुराफाती नेता ओली गुटमा छन् । त्यसैले पनि अब कसरी अघि बढ्ने भन्ने योगेश र गोकर्णले निर्णय गरिसकेका छैनन् । एमाले नेताहरू भने योगेश र गोकर्णले ठूलै दबाब दिएमा एमाले विभाजनबाट रोकिन सक्ने सम्भावना पनि छ ।a
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।