काठमाडौं - एमालेमा आफूलाई निकै चतुर भन्ठान्ने उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रधानमन्त्री केपी ओलीको निकै पेलानमा परेका छन् । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले एमाले ब्युँतिएपछि एमाले महासचिवको पूर्ववत् अवस्थामा फर्के पनि पोखरेल अहिले मन्त्रालयको कुनै भूमिकामा छैनन् । उनी ओलीका सहयोगी मात्र हुन् । तर, पनि उनलाई उपप्रधानमन्त्रीमा थमौती गरिएको छ ।
रक्षामन्त्री र सीसीएमसीको संयोजक रहेका बेला पोखरेल स्वास्थ्य सामग्री खरिदमा मुछिएपछि प्रधानमन्त्री ओलीले उनको मन्त्री पद खोसेर आफैंले राखेका थिए । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सहयोगी बनाएर राखिएको थियो । तैपनि सीसीएमसीको प्रमुख उनै थिए । तर, तीन दिनअघि त्यो पद पनि ओलीले खोसेका छन् ।
पोखरेलको काम प्रभावकारी नभएको ठहरसहित जिम्मेवारीमुक्त गर्दै प्रधानमन्त्री ओलीले आफ्नै हातमा सीसीएमसीको सबै नेतृत्व लिएका थिए । अब सीसीएमसीको नेतृत्व पनि खोसिएपछि पोखरेलको काम विनाविभागीय उपप्रधानमन्त्री भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी सम्हाल्नेमा सीमित भएको छ ।
सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुखमा बालानन्द शर्मालाई नियुक्त गरेको छ । नेपाली सेनाका पूर्वरथी रहेका शर्मालाई सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो ।
मुलुकमा कोरोना भाइरस महामारी चरम विन्दूमा रहेका बेला सरकारले कोभिड– १९ को नियन्त्रण तथा रोकथामका लागि हालै अध्यादेश ल्याएको थियो । पुनर्गठित सीसीएमसीमा प्रधानमन्त्रीको अध्यक्षतामा एक निर्देशक समिति रहने व्यवस्था छ । उक्त निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पूर्वरथी शर्मालाई नियुक्त गरिएको हो ।
निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य रहने व्यवस्था छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।