काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशमा नेकपा एमालेलाई मजबुत बनाउन धेरै प्रयास गरिरहेका छन् । तर राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मुखैमा एमालेलाई ठूलो धक्का लागेको छ ।
नेकपा एमालेको गठबन्धनमा सहभागी ४ सांसदले उपचुनावमा मतदान गर्न नपाइने भएपछि धक्का लागेको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले कारवाही गरेका लुम्बिनीका ४ सांसदको कारवाही यथास्थितिमा राख्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएपनि राष्ट्रियसभा उपचुनावमा मतदान गर्न नपाइने भएको छ ।
जेठ १७ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा प्रदेश सांसदहरू सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीले मतदान गर्न नपाउने भएका छन् । पार्टीको निर्णय विपरीत मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि चारै सांसदलाई जसपाले कारवाही गरेको थियो ।
सर्वोच्च अदालतले ४ प्रदेशसभा सदस्यलाई अन्तरिम आदेशबाट बहाली गरेपनि निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा नाम समावेश छैन । मतदाता नामावलीमा नाम नभएका मतदाताले मतदान गर्न पाइँदैन । आयोगको जारी गरेको अन्तिम मतदाता नामावलीमा प्रदेशसभा सदस्यबाट ७९ जनाको मात्रै नाम रहेको छ ।
लुम्बिनी प्रदेश सभामा ८७ प्रदेशसभा सदस्य भएकोमा जसपाले कारवाही गरेका ४ जना, माओवादीले कारवाही गरेका २ जना र एमालेबाट राजीनामा गरेका २ जना गरी ८ जना प्रदेशसभा सदस्यको पद रिक्त भएको जानकारी निर्वाचन आयोगलाई पठाएको थियो ।
प्रदेशसभा सचिवालयले पठाएको पत्रका आधारमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेशका मुख्य निर्वाचन अधिकृत मिनराज भट्टराईले बताए ।
लुम्बिनीका ७९ प्रदेशसभा सदस्यले मतदान गर्ने र मतभार ४८ का दरले ३ हजार ७९२ रहने जनाइएको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख २१७ जनाले मतदान गर्ने र मतभार १८ का दरले ३ हजार ९०६ हुने जनाइएको छ ।
उपनिर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको छ ।
राष्ट्रियसभा सदस्यमा अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा पद रिक्त भएको थियो । यसपालि नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका दीर्घनारायण पाण्डे उम्मेदवार बनेका छन् ।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षको समर्थन रहेको छ । विपक्षी गठबन्धनमा उम्मेदवार पाण्डेय गत निर्वाचनमा एमालेको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका व्यक्ति हुन् ।
मुख्यमन्त्री पोखरेल दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएपछि असन्तुष्टि जनाउँदै उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनले राजीनामा दिएपछि राष्ट्रिय सभाको उम्मेदवार बनाउने सामूहिक निर्णय गठबन्धनले गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।