काठमाडौं – नेकपा एमालेले पार्टीका पूर्व प्रमुख समेत रहेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टी हितविपरीत अनुशासनहीन कार्य गरेको ठहर गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
परराष्ट्रमन्त्री समेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल–खनाल लगायतका नेताहरूले अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक चरित्र अपनाएर पार्टी हितमा गम्भीर अपराध गरेकाले कारवाही गरिएको बताए । ज्ञवालीले आफ्नै पार्टी अध्यक्ष, दलका नेता र प्रधानमन्त्रीलाई पदबाट हटाउन विपक्षी पार्टीसँग मिली विपक्षी दलका नेतालाई प्रधानमन्त्री निर्वाचित गराउन हस्ताक्षरसहित समर्थन गर्नेजस्तो अपराधपूर्ण र अलोकतान्त्रिक कार्य गरेकाले पार्टीको सदस्य समेत नरहने गरी कारवाही गरिएको बताएका छन् ।
पार्टीबाट निष्कासन हुनेमा नेपाल, खनालसहित नेताहरु भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खडका, निरादेवी जैरु, सरलाकुमारी यादव, पुष्पाकुमारी कर्ण कायस्थ, लक्ष्मीकुमारी चौधरी र कलिला खातुन रहेका छन् । पार्टीको साधारण सदस्य तथा पार्टीको तर्फबाट जनप्रतिनिधित्व, कार्यकर्ताको प्रतिनिधित्व, विभिन्न संघसंस्था वा संगठनका कुनै पद, ओहदा वा प्रतिनिधित्वमा रहेको भए सो समेत नरहने गरी कारबाही गरिएको प्रवक्ता ज्ञवालीले बताएका छन् ।
यसअघि गत शनिवार बसेको स्थायी कमिटी बैठकले कारवाहीमा परेका ११ जना नेतासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ३ दिनभित्रमा स्पष्टीकरणको जवाफ पेश गर्न भनिएको भए पनि कुनै पनि नेताले जवाफ पेश नगरेकाले कारवाही प्रक्रिया अघि बढाइएको ज्ञवालीले बताएका छन् ।
बैठकले थप १२ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । स्पष्टीकरण सोधिएकामा नेताहरुमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा छन् । नेताहरूलाई २४ घण्टाभित्रमा स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।
कारवाहीमा परेका तथा स्पष्टीकरण सोधिएका नेताहरु विपक्षी गठनबन्धसँग मिलेर नयाँ सरकार गठन गर्ने अभियानमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि पुनःस्थापनाको माग गर्दै विपक्षीसँग साँठगाँठ गर्दै आइरहेका छन् ।
सर्वोच्च अदालतको फैसलासँगै कायम भएको नेकपा एमाले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइनुपर्ने नेता नेपाल समूहले माग गरिरहेका थिए । यसअघि पनि एमाले नेताहरु नेपाल, रावल, पाण्डे र भुसाललाई ६ महिनाका लागि निलम्बन गरिएको थियो ।
तर पछि निलम्बन फुकुवा गर्दै पार्टी एकता जोगाउन कार्यदल बनाइएको थियो । तर एमालेका कारवाहीमा परेका नेताहरुले आफ्नै पार्टी अध्यक्षविरुद्ध विपक्षीसँग साँठगाँठ गरेपछि पार्टी फुटको सँघारमा पुग्दै आएको थियो ।
बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिन र पार्टीको तर्फबाट प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता हुन समेत निर्देशन दिएको छ ।
पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाहीमा परेका नेता झलनाथ खनालले अध्यक्ष ओली कम्युनिस्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरे । आफूहरुले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उनले कारवाहीको कुनै अर्थ नरहेको बताएका छन् ।
‘हामीलाई गरिएको कारवाहीको कुनै अर्थ छैन । हामी नयाँ पार्टी खोल्छौं । प्रतिनिधिसभा विघटन गर्ने ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमको हामी समर्थन गर्न सक्दैनौं,’ उनले भने ।
नेता रावलले आफूहरुलाई गरिएको कारबाही हाँस्यास्पद भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा नेता रावलले राष्ट्रघाती काम गर्ने ओलीले साधारण सदस्यबाट हटाइयो भन्नु फुटवादको निरन्तरता भएको उनले जनाएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।