काठमाडौं – शुक्रबार दिउँसो शितलनिवासमै पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई नयाँ प्रधानमन्त्री चयनको प्रक्रियामा बहुमतसहितको पत्र बुझाएका केपी शर्मा ओलीले बालुवाटार फर्किएपछि अर्काे पत्र लेखेका छन् ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेपछि ओलीले भण्डारीलाई पत्र लेखेका हुन् ।
पत्रमा ओलीले एमालेका केही सांसदले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि हस्ताक्षर गरेको पाइएकाले छानविन गरिएको जनाएका छन् । ओलीले भण्डारीलाई पठाएको पत्रमा सांसदहरू दलप्रति प्रतिवद्ध हुने भएकाले कोही पनि पार्टी निर्णय बाहिर जान नसक्ने दाबी गरे ।
राष्ट्रपतिलाई लेखिएको पत्रको आशयबारे एमालेका उच्चस्तरीय एक नेताले भने, ‘पार्टी विधानले अरु दलको उम्मेदवारलाई समर्थन गर्ने अधिकार सांसदलाई दिएको छैन तर केही सांसदले हस्ताक्षर गरेको सुनिएको छ । यसबारे हामीले छानविन गरिरहेका छौं । छानविन नहुँदासम्म कुनै प्रक्रिया अघि नबढाइयोस् ।
ओलीले पार्टी हितविपरीत कोही सांसद गएको पाइए कारवाहीको भागिदार हुने भएकाले त्यस्ता हस्ताक्षरलाई मान्यता दिन नमिल्ने पनि दाबी गरेका छन् ।
संविधानको धारा ७६ उपधारा (५) बमोजिम राष्ट्रपति भण्डारीले आह्वान गरेको समयसीमामा ओलीले समेत आफ्नो पक्षमा १५३ सांसद रहेको दाबी राष्ट्रपति भण्डारीसमक्ष पेश गरेका छन् । विपक्षी गठबन्धन तथा कांग्रेस सभापति देउवाले एमालेका माधवकुमार नेपाल पक्षका २७ सांसद समेतको सहयोगमा १४९ सांसदको समर्थनसहित दाबी पेश गरेका छन् ।
राष्ट्रपति भण्डारीलाई कुन दाबीलाई आधिकारिकता दिन्छन् भनेर हेर्न बाँकी रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।