काठमाडौं – प्रतिनिधि सभामा बहुमत प्राप्त व्यक्तिलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्ने नेपालको संविधानको धारा ७६ उपधारा (५) अनुसार दाबी पेश गर्न नेकपा एमालेका २७ सांसदको समर्थन पाएपछि शेरबहादुर देउवा तयार भएका छन् ।
तोकिएको समयभित्र प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवाको दाबी पेश गरिँदैछ । दुबै नेताको पक्षमा कसरी बहुमत पुग्यो ? हिसाब गडबड छ ।
नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्ने समय सकिन १ घण्टा बाँकी रहँदा प्रधानमन्त्री केपी शर्मा ओली समेत दाबी पेश गर्न शितलनिवास पुगेका छन् भने विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षर संकलन भएको थाहा पाएर ओली समेत हस्ताक्षर बोकेर पुगे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कसको बहुमतलाई मान्यता दिन्छिन् हेर्न बाँकी छ । दाबी पेश गर्ने समय साँझ ५ बजेपछि राष्ट्रपति कार्यालयले यसबारे निर्णय लिनेछ ।
सभापति शेरबहादुर देउवाको नेतृत्वमा विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षर जुटाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ५ बजेसम्म दलहरूले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि आह्वान गरेकी छन् ।
नयाँ प्रधानमन्त्रीमा देउवालाई नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४८, नेकपा एमाले माधव नेपाल पक्षका २७ र जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षका १३ सांसदले समर्थन जनाएका छन् ।
यी हुन् देउवाको पक्षमा हस्ताक्षर गर्ने एमालेका सांसदहरू –
१ योगेश भट्टराई
२ झलनाथ खनाल
३ पवित्रा निरौला खरेल
४ भवानी खापुङ
५ यज्ञराज सुनुवार
६ गणेश पहाडी
७ विरोध खतिवडा
८ कृष्णलाल महर्जन
९ माधवकुमार नेपाल
१० जीवनराम श्रेष्ठ
११ नारायण खतिवडा
१२ घनश्याम भुसाल
१३ गोकर्ण विष्ट
१४ सोमप्रसाद पाण्डे
१५ मेटमणी चौधरी
१६ झपट रावल
१७ भीमवहादुर रावल
१८ दिपकप्रकाश भट्ट
१९ सुरेन्द्र पाण्डे
२० रामकुमारी झाँक्री
२१ सरला यादव
२२ पुष्पाकुमारी कर्ण
२३ कल्याणी खड्का
२४ निरादेवी जैरु
२५ कलिला खान
२६ लक्ष्मीकुमारी चौधरी
२७ मुकुन्द न्यौपाने
तर प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षका २७ सांसदलाई समेत आफ्नो पक्षमा राखेर जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको समर्थनसहित दाबी पेश गरेका छन् ।
दुबै दाबी प्रस्तावमा एमालेका माधव नेपाल पक्षको हस्ताक्षर छ । प्रधानमन्त्री ओलीले एमालेका १२१ सांसदकै हस्ताक्षर पेश गरेकाले हिसाब गडबड भएको छ । अब एमालेको माधवकुमार नेपाल पक्षका सांसदको हस्ताक्षर ओली वा देउवातिर कता मान्यता पाउँछ, त्यसकै आधारमा नयाँ प्रधानमन्त्री नियुक्त हुने स्रोतले जनाएको छ ।
यसअघि, कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा एमालेका नेता माधवकुमार नेपालसहित विपक्षी नेताहरू सहभागी भएर राष्ट्रपति कार्यालयमा दाबी पेश गर्ने निर्णय भएको थियो । एमाले नेता नेपालको साथ पाएपछि सभापति देउवालाई सजिलो भएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र यादव, माधवकुमार नेपाल सहितका नेताले देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका छन् ।
राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्रीको दाबी पेश गर्न आज शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । बिहीबारको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्म नयाँ प्रधानमन्त्री नियुक्तिका लागि बहुमतको आधारसहित दाबी पेश गर्न आह्वान गरेकी छन् ।
संविधानको धारा ७६(३) अनुसार नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाइने आधार नदेखेपछि नयाँ प्रक्रिया अगाडि बढाइएको हो ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेताको हैसियतमा माननीय श्री केपी शर्मा ओलीज्यूलाई मिति २०७८/१/३० गते प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएकोमा उहाँले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम तीस (३०) दिन भित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेमा हाल विकसित राजनीतिक परिस्थितिमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिमको मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको, मिति २०७८/१/२७ भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको हुँदा वैकल्पिक सरकार गठनको लागि मार्ग प्रशस्त गर्न उपयुक्त देखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया आरम्भ गर्न नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७८/२/६ मा निर्णय भएको र सो बमोजिम प्रधानमन्त्री नियुक्ति प्रकृया आरम्भ हुन सम्माननीय प्रधानमन्त्रीज्यूबाट अनुरोध भई आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ ।’
यस्तो छ प्रधानमन्त्री चयन सम्बन्धी संविधानको धारा ७६ को व्यवस्था –
७६. मन्त्रिपरिषदको गठनः
(१) राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ ।
(२) उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।
(३) प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।
(४) उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।
(५) उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।
(६) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।
(७) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।