काठमाडौं – देशमा नयाँ–नयाँ राजनीतिक घटनाक्रम विकसित भइरहेका बेला कोरोना भाइरस संक्रमणको बहानामा संकटकाल लगाउन नयाँ अध्यादेश ल्याइएको खुलासा भएको छ ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ मा कोरोना महामारी नियन्त्रणका नाममा संकटकाल लगाउने तयारी भएको छ ।
राष्ट्रपति भण्डारीले आज बिहीवार जारी गरेको अध्यादेशमा संकटकाल लगाउनसक्ने स्पष्ट व्यवस्था गरिएको छ । संकटकालीन व्यवस्थाबारे प्रधानमन्त्री ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग समेत बालुवाटारमा छलफल गरिसकेका छन् ।
संकटकालका बेला सरकारले कुनै पनि ठाउँ, संरचना, उद्योग नियन्त्रणमा लिएर आफैं सञ्चालन गर्नसक्ने वा बन्द गर्नसक्ने व्यवस्था गरिएको स्रोतले जनाएको छ ।
संकटकालका बेला नागरिक हक समेत निलम्बन गरिने र नागरिकमाथि आवतजावतमा पूर्ण वा आंशिक प्रतिबन्ध लगाउने सक्ने व्यवस्था समेत रहेको छ ।
अर्काेतिर देशमा सरकारविहीनताको अवस्था समेत विकास भइरहेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि अल्पमतको सरकार चलिरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्म नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु गरेपनि बहुमत पुग्ने सम्भावना देखिएको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।