काठमाडौं – मन्त्री पदको सुखसयलमा रमाइरहेका कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका ७ जना मन्त्रीको पद सर्वाेच्च अदालतको एकै अन्तरिम आदेशले चट् भएको छ । तर यसका पछाडि कसको हात छ ?
सिन्धुपाल्चोक घर भएर हाल भक्तपुरमा बस्ने २५ वर्षीय युवा अधिवक्ता विराज थापा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले पूर्व माओवादीका ७ जना मन्त्रीको पद चट् गरिदिएको छ । यी अधिवक्ता विराज हो हुन् ? यिनको पृष्ठभूमिमा जानुअघि अदालतको फैसलाबारे थाहा पाउनु राम्रो हुन्छ ।
अधिवक्ता विराज थापा र कपिलदेव ढकालले संघीय सांसद नरहेका व्यक्तिको नियुक्ति तत्काल बदर हुनुपर्ने माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमाथि भएको सुनुवाइपछि बिहीबार अन्तरिम आदेश जारी गर्दै प्रधानन्यायाधीश जबराको इजलासले सांसद नभएको व्यक्ति पटक–पटक मन्त्री हुन नमिल्ने अन्तरिम आदेश गरेको हो ।
सांसद नभई पटक–पटक शपथ खाएकाहरूलाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नू, नगराउनू भनी अदालतबाट अन्तरिम आदेश भएको छ ।
सांसद नरहेको व्यक्ति पटक–पटक मन्त्री बन्न नमिल्ने सर्वोच्च अदालतको आदेशपछि ७ जना मन्त्रीको पद गएको छ । संविधानको धारा ७६ उपधारा (३) अनुसार केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्रीसँगै मन्त्रीले पनि बैशाख ३१ गते शपथ खाएका थिए ।
बैशाख ३१ गते शपथ खाएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभू साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरीको मन्त्री पद गएको छ ।
नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका मन्त्रीको सांसद पद गुमेपछि दोहोर्याएर मन्त्रीको शपथ खाएका थिए । बैशाख ३१ गते तेस्रो पटक शपथ खाएपछि विवाद उत्पन्न भएको थियो । सांसद नै नरहेका मणि थापा र दावा लामाको पद समेत खारेज भएको छ । प्रतिनिधिसभा विघटनसँगै थापा र लामा मन्त्री बनेका हुन् ।
यस्ता मन्त्रीविरुद्ध रिट दायर गर्ने अधिवक्ता विराज थापा अखिल क्रान्तिकारी भक्तपुरका जिल्ला संयोजक समेत रहेका छन् । थापाले ल क्याम्पसबाट बीए एलएलबी गरेका छन् ।
अदालतको आदेशपछि माओवादी केन्द्रको युवा संगठन बाइसीएल नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो अदालतको फैसला त हो तर ओलीको जीत हो । यो स्वतन्त्र न्याय/अन्याय होइन, ओलीको चाहना हो । हामी किन खुसी हुनु ? अब एमाले प्रवेश गरेकाहरूसँग न टेक्ने जमिन छ, न समात्ने हाँगो !’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।