काठमाडौं – आगामी जेठ १७ गते हुने लुम्बिनी प्रदेश तर्फको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चा (राजमो) ले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने भएको छ ।
राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै लुम्बिनीको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार दीर्घनारायण पाण्डेय मतदान गर्न अपिल गरेका छन् ।
लुम्बिनीमा कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा) र राजमोको समर्थन रहेको छ । प्रतिस्पर्धामा एमालेको ओली पक्षका रहेकाले कांग्रेस गठबन्धनका उम्मेदवार पाण्डेयको जीत सुनिश्चित देखिएको छ ।
राजमो अध्यक्ष केसीले प्रतिगमनविरुद्ध रहेका प्रतिगमन विरोधी शक्तिहरूका उम्मेदवार पाण्डेयलाई अत्याधिक मतले विजय गराउन आग्रह गरेका छन् ।
यस्तै, राजमोले आज बिहीवार भइरहेको बागमती प्रदेश तर्फको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसले समर्थन गरेका उम्मेदवार डा. खिमलाल देवकोटालाई मतदान गर्न आग्रह गरेको छ ।
अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा बागमती प्रदेशमा जेठ ६ गते हुने निर्वाचनमा उम्मेदवार रहेका डा. देवकोटालाई नैतिक समर्थन गर्ने पार्टीको नीति रहेको जनाएका छन् ।
डा. देवकोटा प्रतिगमन विरोधी गठबन्धनको उम्मेदवारको रूपमा खडा भएका जनाउँदै केसीले विज्ञप्तिमा भनेका छन्, ‘प्रतिगमनलाई परास्त गर्न प्रतिगमन विरोधी उम्मेदवारलाई जिताउन हामीले उहाँलाई प्रतिगमन विरोधी शक्तिहरुको साझा उम्मेदवारको रूपमा अगाडि सार्ने सहमति अनुरूप नै हाम्रो पार्टीले समर्थन गर्ने निर्णय लिएको छ ।’
बागमतीमा डा. देवकोटाविरुद्ध एमालेका रामबहादुर थापा ‘बादल’ उम्मेदवार बनेका छन् । गृहमन्त्री समेत रहेका बादललाई बागमतीलाई गाह्रो हुनसक्ने विश्लेषण भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।