काठमाडौं – राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेशतर्फको उपनिर्वाचन अन्तर्गत आज बिहीबार मतदान हुँदैछ ।
आज बिहीवार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान कार्यक्रम छ ।
निर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० र प्रदेश अन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेका निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
बागमती प्रदेशमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका कम्तीमा २२ सांसद र लगभग ४० स्थानीय प्रतिनिधि गरी ६० आसपास मतदाता रहेका छन् । यसरी एमालेभित्रको विद्रोही पक्ष खनाल–नेपाल पक्षसँग करीब १ हजार ७०० मतभार रहेको छ, जुन निर्णायक हो ।
खनाल–नेपाल पक्षले आफ्ना पक्षका मतदातालाई ‘स्वविवेकीय अधिकार’ प्रयोग गर्न स्वतन्त्र छाडेपछि एमालेका बहुमत मतदाता हुँदाहुँदै पनि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ जोखिमा परेका छन् । एमालेकै खनाल–नेपाल पक्षको मत प्रयोग गर्दै राष्ट्रियसभा उपनिर्वाचनमा सत्तापक्षलाई धक्का दिने विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्र सम्मिलित गठबन्धनको दाउ रहेको छ ।
बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि गृहमन्त्री बादललाई मैदानमा उतारेका प्रधानमन्त्री केपी शर्मा ओलीले जीतलाई प्रतिष्ठाको विषय बनेका छन् । एमाले भित्रको विवाद गृहमन्त्री बादलका लागि टाउको दुखाइको विषय बनेको छ भने प्रधानमन्त्री ओलीका लागि प्रतिष्ठा दाउमा रहेको छ ।
एमालेकै खनाल–नेपाल पक्षको प्रस्तावअनुसार डा. खिमलाल देवकोटालाई स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा उतारेका कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष सहितको विपक्षी गठबन्धन राष्ट्रियसभा उपनिर्वाचनमा सत्तापक्षलाई धक्का दिने दाउमा रहेको छ ।
एमाले भित्रको अन्तर्विरोधले खनाल–नेपाल पक्षका मतदाता चुनावी मैदानमा निर्णायक अवस्थामा रहेका छन् । त्यसैले एमालेको एकल बहुमत रहे पनि खनाल–नेपाल पक्षका मतदाताले परिणामलाई प्रभावित पार्ने देखिएको छ ।
सत्तापक्ष र प्रतिपक्ष गठबन्धन दुबैका लागि प्रतिष्ठा रहेको उपचुनावमा बिहीबार अंकगणितको परीक्षण हुँदैछ ।
गत मंगलवार कोटेश्वरस्थित निवासमै पुगेर गृहमन्त्री थापाले उपनिर्वाचनमा सहयोग गर्न नेता नेपाललाई आग्रह गरेका थिए । खनाल–नेपाल पक्षका मतदाताको भूमिकाका कारण जीत कठिन भएको संकेतपछि बुधवार प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता मिचेर बादलको पक्षमा मतदान गर्न सार्वजनिक वक्तव्य नै जारी गरे ।
ओलीले निर्वाचनका लागि पार्टीका वरिष्ठ नेताहरुलाई समेत गृहमन्त्री थापासँगै हेटौंडा पठाएका छन् । तर हेटौंडामा एमालेका दुबै समूह भिन्नाभिन्नै तरिकाले चुनावी रणनीतिमा जुटेका छन् । निर्वाचनको पूर्व सन्ध्यामा आफ्ना उम्मेदवार बादलसँग बागमती प्रदेशको राजधानी हेटौंडा पुगेका ओलीनिकट नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले चुनावको परिणामले एमालेको भविष्य निर्धारण गर्ने जनाएका छन् ।
‘बागमती प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरिने चुनावको मानिसहरुले काउन्ट–डाउन गर्न थालेका छन् । तर त्योभन्दा बढी देशको सबभन्दा ठूलो पार्टी एमालेको सुरक्षित जीवनको चासो चाहिँ सरोकारवालाले राखेको सत्यको कसीमा विश्लेषण गर्नु वस्तुनिष्ठ हुने पक्का हुन्छ है,’ बाँस्कोटाले ट्वीटमा गरेका छन् ।
मतदानको अघिल्लो रात एमालेका दुबै पक्षका नेताहरु उपनिर्वाचनको अन्तिम तयारी गर्न हेटौंडामा जम्मा भएर छुट्टाछुट्टै छलफलमा जुटेका छन् । यसले समेत बाँस्कोटाले भनेजस्तै एमालेको भविष्यलाई जोड्ने वा तोड्ने भन्ने निर्धारण गर्ने पुष्टि हुने भएको छ । एमालेको ओली पक्षका नेताहरु सुवासचन्द्र नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, डोरमणि पौडेल, विद्यासुन्दर शाक्य लगायत नेताहरुले होटलमै बसेर आफ्नो पक्षमा मतदान बढाउने विषयमा छलफल गरेका छन् ।
सांसद अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेलगायत खनाल–नेपाल समूहका नेताहरुले कांग्रेसका इन्द्र बानियाँ र माओवादी केन्द्रका शालिकराम जम्मकट्टेलको टोलीसँग रिसोर्टमा बसेर छलफल चलाएका छन् । कांग्रेस र माओवादी केन्द्रको छलफलमा एमाले नेत्री शाक्यले आफूहरुले गठबन्धनलाई नै साथ दिने बताएकी छन् ।
स्रोतका अनुसार खनाल–नेपाल पक्षले गठबन्धनका स्वतन्त्र उम्मेदवार डा. देवकोटालाई नै मतदान गर्न आफूपक्षीय प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई ह्वीप नै जारी गरेका छन् ।
नेकपा माओवादी केन्द्रसँगको एकतापछि एकीकृत पार्टी नेकपा हुँदै मतभेदमा उत्रिएका अध्यक्ष ओली र वरिष्ठ नेता खनाल–नेपाल समूहबीच अहिले पार्टी एकता कसरी जोगाउने भन्ने विषयमा कार्यदल बनाएर छलफल चलिरहेको छ । तर ३ दिनको समयावधि पाएको कार्यदलले समय घर्किनै लाग्दा समेत कुनै निष्कर्ष निकाल्न सकेको छैन ।
बिहीवार समय सकिनै लाग्दा कार्यदलको बैठक एकपटक मात्रै बसेको छ भने बुधवार तोकिएको बैठक बस्नै नसकेर बिहीवारका लागि सारिएको छ । बिहीवारै हुने उपनिर्वाचनमा खनाल–नेपाल पक्षले लिने निर्णयका आधारमा थप छलफल अगाडि बढाउनका लागि ओली पक्षले बैठक सारेको एमालेका नेताहरुले बताएका छन् । उपनिर्वाचनको परिणामले एमालेको एकता जोगाउने वा तोड्ने निधो गर्ने बताइँदैछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।