काठमाडौं – नेकपा एमालेभित्र विवाद समाधानका कार्यदलले काम गरिरहेका बेला अर्काे भद्रगोल मच्चिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले भोलि बिहीबार हुने बागमती प्रदेश तर्फको राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मतदान नगर्नेलाई क्षमा नदिने लिखित धम्की दिँदै माधव नेपाललाई कारवाहीको तयारी गरेका छन् ।
नेकपा एमालेकै नेता माधवकुमार नेपाल पक्षले भने स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई मतदान गर्ने तयारी गरेको छ । देवकोटालाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समेत समर्थन छ ।
नेपाल पक्षले बादललाई मतदान नगरी देवकोटालाई मतदान गरेको अवस्थामा माधव नेपालमाथि फेरि कारवाही हुने निश्चित भएको छ । माधव नेपालले एमाले २०७५ जेठ २ गतेमा फर्किनुपर्ने अडान लिइरहेकाले माओवादीबाट एमालेमा आएका बादल लगायत नेतालाई नेपाल पक्षले आधिकारिक एमाले मान्दैन । नेता नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा देवकोटालाई उम्मेदवार बनाएकाले उनैलाई मतदान गर्ने स्पष्ट पारिसकेका छन् ।
यस्तो बेला ओलीले बुधबार एक अपिल सार्वजनिक गर्दै नेता थापाको विजयले कम्युनिस्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने जनाएका छन् । ‘जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने छ,’ अपिलमा उल्लेख छ, ‘तसर्थ यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।’
सोमबार रातिदेखि नै उपनिर्वाचनको मौन अवधि सुरु भइसक्दा समेत निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै ओलीले मतदानको अपिल गरेका छन् । ओलीले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिह्न सूर्यलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय एमाले पार्टीमा कल्पना बाहिरको कुरा रहेको स्पष्ट पारेका छन् । एमालेकै नेता नेपाल पक्षले देवकोटालाई स्वतन्त्र उम्मेदवार बनाएको थियो ।
ओलीले एमाले भएर एमाले उम्मेदवारलाई नै मत नदिने विषय क्षमायोग्य नहुने धम्की समेत दिए । ‘यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्,’ अपिलमा उल्लेख छ ।
मंगलबार निर्वाचनमा सहयोग माग्दै नेता माधवकुमार नेपाललाई भेट्न गएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सहयोग नपाउने संकेत पाएपछि आज बुधबार ओलीले लिखित अपिल नै जारी गरेका छन् ।
‘हामी सबै जनप्रतिनिधिहरू पार्टीका तर्फबाट उम्मेदवार बनेका हौं । पार्टीका सयौं कार्यकर्ताहरू र हजारौं मतदाताको अमूल्य मतबाट विजयी बनेर यस जिम्मेवारीमा आएका हौं । निर्वाचन अभियानका क्रममा र विजयपछि पार्टी घोषणापत्रमा उल्लेख गरिएका विषयहरू जसरी पनि पूरा गरिछाड्ने छौं भनेर हामीले जनतामाझ प्रतिबद्धता गरेका छौंं । हामी सबैले पार्टी सदस्यता लिँदा, विभिन्न तहका जिम्मेवारी बहन गर्दा प्रत्येक पटक पार्टीप्रति बफादार हुने र पार्टीे हित विपरीत काम नगर्ने शपथ लिइआएका छौं । आफ्नै शपथ कुन स्वार्थ, के कारण वा कस्तो बाध्यताले हामी पालन नगर्ने विन्दुमा पुग्छौं ? पार्टी जीवनमा यो अकल्पनीय हो, यसो हुनै सक्दैन,’ ओलीले चेतावनी शैलीमा भनेका छन् ।
पढ्नुहोस् ओलीको लिखित अपिल –


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।