काठमाडौं – अमेरिकी सहयोगको एमसीसी परियोजना संसदबाट पारित नहुँदै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रसारण लाइनका लागि भन्दै हरिया रुख कटानको स्वीकृति अगाडि बढेको छ ।
सरकारले मन्त्रीस्तरीय निर्णयबाट वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति गरेसँगै विद्युत् प्रसारण लाइन क्षेत्रका हरिया रुख कटान स्वीकृतिको प्रक्रिया अगाडि बढेको छ ।
वन तथा वातावरण मन्त्री प्रेम आलेले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए । ‘मन्त्रीस्तरको निर्णयबाट बैशाख १६ गते ईआईए स्वीकृत भएको छ,’ मन्त्री आलेले भने ।
वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति परियोजना कार्यस्थलमा रहेका बाधा हटाउने सन्दर्भमा महत्वपूर्ण रहेको एमसीए नेपालका कार्यकारी निर्देशक खड्कबहादुर विष्टले जानकारी दिए ।
‘प्रसारण लाइन निर्माणस्थल क्लीयरेन्सका निम्ति ईआईए स्वीकृति महत्वपूर्ण निर्णय हो,’ विष्टले भने । यी दुबै परियोजना निर्माणका लागि नेपाल सरकार तथा अमेरिकी सरकारको एमसीसीबीच २०७४ भदौ २९ गते सम्झौता भएको थियो ।
परियोजनाअन्तर्गत करीब ३१४ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन तथा ३ वटा ४०० केभी क्षमताका सब–स्टेसन निर्माण हुने जनाइएको छ ।
तर एमसीसी सम्झौतामा कतिपय विवादित बुँदा र शब्द रहेकाले त्यसलाई सच्याउनुपर्ने माग राजनीतिक स्तरमा उठेको छ । सम्झौता कार्यान्वयन हुनुअघि संसदबाट पारित हुनुपर्ने प्रावधान भएपनि सरकारले संसदबाट पारित नहुँदै कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।