काठमाडौं - देश कोरोना भाइरसको चपेटामा परेको छ । सरकार प्रमुखको अकर्मण्यताका कारण गत जेठदेखि यताको एक वर्षमा पाँच हजार नागरिकले ज्यान गुमाएका छन् ।
कोरोना महामारी अन्य देशमा चरम अवस्थामा पुग्दा नेपाललाई धेरै पूर्वाधार र संरचना गर्ने समय थियो । स्वास्थ्य सामग्री खरिद गर्ने समय थियो । तर, प्रधानमन्त्री केपी ओलीले कोरोना सोरोना केही होइन, हाच्छ्यु साच्छ्यु गरेर हटाउनु पर्छ, नेपालीको इमिन्युटी पावर बढी छ कोरोनाले छुँदैन भनेर लिँडेढिपी गरे ।
यो एक वर्षमा चार लाख बढी संक्रमित र पाँच हजार बढीले ज्यान गुमाएपछि उनी भन्दैछन्– मैले कोरोनालाई यति गम्भीर रूपमा लिएको थिइनँ, त्यति असर गर्दैन होला भन्ने लागेको थियो । तर, अहिले संक्रमण दर र मृत्युदर दुवै बढेको छ ।
अस्पतालहरूले अक्सिजन अभावमा नयाँ विरामी भर्ना लिन मानेका छैनन् । अक्सिजन अभावमा दैनिक ३०–४० जनाले ज्यान गुमाउँदै आएका छन् । अक्सिजन नपाएर मृत्यु हुनु भनेको राज्यद्वारा गरिएको अपराध नै हो ।
तर, ओली सरकारका जिम्मेवार मन्त्रीहरू अस्पतालमा अक्सिजन सिलिन्डिर, आइसियु बेड र भेन्टिलेटर थप्न भन्दा शव जलाउने दाउरा कमी हुन नदिन निर्देशन दिन थालेका छन् ।
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिए । पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्यघाट क्षेत्रमा शव दाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन निर्देशन दिएका हुन् ।
कोरोना संक्रमणका कारण दैनिक मृतकको संख्या बढिरहँदा सार्वजनिक खपतकै लागि पनि मन्त्री जस्तो व्यक्तिले यस्तो भन्न सुहाउँदैनथ्यो । पर्यटनमन्त्री भानुभक्त ढकालले शव दाह गर्ने कर्मचारीको भत्ता एक हजार बढाउन पशुपति विकास कोषलाई निर्देशन दिएका छन् ।
मन्त्री आले र ढकालले दिएको यस्तो निर्देशनले कोरोना संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका बिरामीमा कस्तो मनोदशा उत्पन्न भयो होला ? जनताले यस्ता मन्त्रीलाई धिक्कार्न थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।