काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको विवाद समाधान गर्न कार्यदल गठन गरिएको छ ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आईतवार १० सदस्यीय कार्यदल टुंगो लगाएका छन् ।
सिंहदरबारमा ओली र नेपालबीचको वान टु वान वार्तापछि कार्यदल टुंगो लागेको छ ।
कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहेका छन् ।
ओली पक्षको नेतृत्व नेम्वाङ र नेपाल पक्षको नेतृत्व रावलले सम्हाल्ने भएका छन् ।
कार्यदललाई ३ दिनभित्र पार्टी विवाद समाधानको सुझाव सहितको प्रतिवेदन बुझाउने समय दिइएको छ । त्यस अवधिमा कार्यसम्पन्न नभए समय थप्न सकिने जनाइएको छ ।
वार्तापछि अध्यक्ष ओलीले पार्टी विवाद समाधान हुनेमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिए ।
फागुन २८ गतेको निर्णय खारेज र २०७५ जेठ २ गतेकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने नेपाल पक्षको मागमा अध्यक्ष ओली सहमत भएका छन् । ओली र नेपालबीच कार्यदल बनाएरै सबै समस्या समाधान खोजिने गरी छलफल भएको छ ।
गत शुक्रवार र बिहीवार पार्टी विवाद कसरी समाधान गर्ने भन्नेबारे केन्द्रित रहेर ओली र नेपालबीच छलफल भएको थियो । विवाद उत्कर्षमा पुगेकै बेला वैशाख २७ गतेमा प्रधानमन्त्री ओलीलाई नेपाल पक्षका सांसदले विश्वासको मतदान नगरी संसद् बैठक बहिष्कार गरेका थिए ।
दुबै समूह समानान्तरण कमिटी निर्माण गर्दै अघि बढेपछि पार्टी विवाद झन् बढदै गएको थियो । तर नेताबीच कार्यदल गठन गरेर विवाद समाधान गर्ने सहमतिपछि एकता जोगिने विश्वास नेता कार्यकर्ताको रहेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।