काठमाडौं – सत्ता फेरबदलको खेलमा लागेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद चर्किएको छ ।
जसपाका २ पक्षले छुट्टाछुट्टै भेला, बैठक गर्न थालेका छन् । पार्टी एकता भएको १ वर्ष नबित्दै उनीहरु छुट्टाछुट्टै पार्टीको अभ्यासमा लागेका छन् ।
जसपाको डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले शनिवार आफू पक्षका केन्द्रीय कार्यकारिणी समितिको बैठक गरेका छन् । अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले केन्द्रीय कार्यकारिणीको कुनै बैठक नरहेको र त्यस्तो जानकारी नभएको जनाएको छ ।
अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी कार्यालयमा जारी रहेको विभिन्न सञ्चारमाध्यम एवं समाजिक सञ्जालबाट सूचना एवं समाचार सम्प्रेषित भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पारेको छ ।
‘जसपाको कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष ठाकुर पक्षले बिहीवार मात्रै बहुमत सांसदको उपस्थितिमा राजेन्द्र महतोलाई संसदीय दलका नेता चयन गरेको छ । एकताको समयमा भएको सहमतिकै आधारमा महतोलाई संसदीय दलका नेता बनाइएको दाबी छ । १९ सांसदको हस्ताक्षरमा महतो दलका नेता चयन भएको जनाइएको छ ।
यादव पक्षको शनिवार बसेको केन्द्रीय कार्यकारिणी बैठकपछि जारी विज्ञप्तिमा संसदीय दलको बैठकबाट दलका नेता चयन भएको विषयमा सञ्चारमाध्यम र सामाजिमक सञ्जालमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । केन्द्रीय कार्यकारिणी सदस्य प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा पार्टीको संसदीय दल समायोजन नभएको उल्लेख छ ।
‘जसपाको अन्तरिम विधान बमोजिम हालसम्म संसदीय दलको विधान अनुमोदन हुनुपर्ने अनिवार्य व्यवस्था बमोजिम हालसम्म संसदीय दलको विधान नबनेको र अनुमोदन नभएको र संसदीय दलको कुनै पनि बैठक नभएकोले उक्त समाचार भ्रमपूर्ण रहेकोले सम्बन्धित सबैलाई जानकारीसहित स्पष्ट गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
शनिवारको केन्द्रीय कार्यकारिणी बैठकमा २८ जनाको उपस्थिति रहेको यादव पक्षका नेता ईस्तियाक राईले दाबी गरेका छन् । केन्द्रीय कार्यकारिणीमा भट्टराई र यादव पक्षको बहुमत छ भने संसदीय दलमा ठाकुर र महतो पक्षको बहुमत छ । पार्टी एकता हुँदा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अधिकांश नेता ठाकुर र महतोसँग रहेका छन् । समाजवादी पार्टीका अधिकांश नेता डा. भट्टराई र यादवको पक्षमा रहेका छन् ।
डा. भट्टराई र यादव पक्षले संसदीय दल समोजन नभएको भन्दै आफ्ना पक्षबाट ठाकुर र महतो पक्षमा गएका सांसदहरुलाई मनोवैज्ञानिक रुपमा कारवाही गर्ने संकेत गरेको देखिएको छ । ठाकुर पक्षका वा पूर्व राजपाका महेन्द्रराय यादव मात्रै यादव पक्षमा रहेका छन् । यादव पक्षका पूर्व समाजवादी फोरमका विमल श्रीवास्तव, उमाशंकर अरगरिया लगायतका केही सांसद महन्थ र राजेन्द्र पक्षमा रहेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।