काठमाडौं – सत्तारुढ नेकम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति भएको छ ।
काठमाडौंको चपलीहाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा बिहीवार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको छलफलले कार्यदल बनाएर पार्टी विवाद समाधान गर्ने सहमति बनेको छ ।
सहमतिपछि बिहीवार नै सांसद पदबाट राजीनामा दिने तयारीमा रहेका नेपाल पक्षका नेता तत्कालका लागि पछि हटेका छन् । ४ घण्टा लामो छलफलमा पार्टी विवाद कसरी समाधान गर्ने भन्ने विषयलाई गम्भीर रुपमा लिँदै ओली–नेपाल कार्यदल बनाउने निष्कर्षमा सहमति बनेको छ ।
एमाले नेता नेपालले सञ्चारकर्मीसँग कार्यदल बनाएर पार्टीभित्रको समस्या समाधान गरिने सहमति भएको प्रष्ट पारे । सांसद पदबाट राजीनामा दिने प्रसंग २/४ दिनलाई टरेको पनि उनले उल्लेख गरेका छन् ।
‘मैले प्रधानमन्त्रीसमक्ष राखेको ६ बुँदे शर्त सहितको पत्र विषयमा छलफल भयो, फागुन २८ गतेको निर्णय फिर्ता र जेठ २ गतेको अवस्थामा फर्काउन विधि बनाएर जाने सहमतिनजिक पुगेका छौं,’ नेपालले भने, ‘यसका लागि कार्यदल बनाउने र विभिन्न तहमा छलफल गरेर समाधान गर्ने सहमति भएको छ ।’
नेपालका अनुसार २०७५ जेठ २ गतेकै पार्टी कमिटी, विधान र नेतृत्वमा फर्किनुपर्ने र फागुन २८ गतेको निर्णय फिर्ता लिनुपर्ने प्रस्तावमा पार्टी अध्यक्ष ओली सकारात्मक देखिएका छन् ।
छलफलअघि ओली सन्देशसहित बिहीवार बिहानै अर्थमन्त्री समेत रहेका एमाले नेता विष्णु पौडेल कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । पौडेल– नेपाल छलफलपछि एमाले स्थायी कमिटी बैठक बसेर यसअघि गरिएका कारवाही फुकुवा गर्ने निर्णय गरिएको थियो । त्यसपछि मात्रै ओली–नेपाल छलफलको वातावरण बनेको जनाइएको छ ।
एमाले नेता गोकर्ण विष्टले यसअघि गरिएको कारवाही फुकुवा गरेपछि पार्टी विवाद समाधान गर्ने वातावरण बनेको बताए । शीर्ष नेताबीच छलफल सकारात्मक भएको बताउँदै उनले विवाद क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
ओली–नेपाल सहमतिले पार्टी विवाद समाधान हुने देखिएको छ । कार्यदलले सबै काम गर्ने भएपछि विवाद समाधान हुने निश्चित भएको छ । कार्यदलमा ओली र नेपाल दुबै समूहका नेता रहने भए पनि कति सदस्यीय बनाउने भन्नेबारे खुलाइएको छैन ।
पार्टी विवाद समाधान गरेर एकता जोगाउन विभिन्न तहमा पटक–पटक छलफल हुँदै आएको छ । शीर्षका साथै दोस्रो तहका नेताबीच समेतको छलफलपश्चात् सहमतिको वातावरण बनेको छ । ओली–नेपाल छलफलअघि प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको एमाले स्थायी कमिटी बैठकले ४ नेतामाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार नेता नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारवाही फुकुवा गर्ने निर्णय भएको छ । पार्टी एकता रक्षाका लागि विगत बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्दै बैठकले निलम्बन फुकुवा गरेको छ ।
बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा देखापर्ने परिस्थिति सन्र्दभमा आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको छ ।
बाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधनमा श्रद्धाञ्जलि अर्पण गर्दै पार्टी झण्डा ३ दिन झुकाउने निर्णय समेत बैठकले गरेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।