आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

आज फेरि केपी ओली नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना कति ? यस्तो छ हिसाबकिताब

आज फेरि केपी ओली नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना कति ? यस्तो छ हिसाबकिताब

  • मिडिया डबली
  • बिहिवार, बैशाख ३० २०७८

  • 6.4K
    SHARES

  • आज फेरि केपी ओली नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना कति ? यस्तो छ हिसाबकिताब

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको ३ दिनको म्याद बिहीवार सकिँदैछ ।

    बिहीवार साँझ ९ बजेसम्म विपक्षी दललाई बहुमत जुटाउन हम्मेहम्मे परेको छ । त्यसका लागि नेकपा एमालेको असन्तुष्ट माधवकुमार नेपाल पक्षलाई राजीनामा गराउन विपक्षी गठबन्धन लागिपरेको छ ।

    एमालेका असन्तुष्ट पक्षको राजीनामा वा समग्र जनता समाजवादी पार्टी (जसपा) नेपाल एकढिक्का नभएसम्म विपक्षी गठबन्धनको बहुमत पुग्दैन । 

    हालको संसदको विद्यमान अवस्थामा विपक्षी गठबन्धनलाई बहुमत पुर्‍याउन कम्तिमा पनि थप १२ सांसदको आवश्यकता पर्छ । कांग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४८ सांसद रहेका छन् ।

    जसपाको उपेन्द्र यादव पक्षमा १५ वा १६ जना छन् । यसरी हेर्दा विपक्षी गठबन्धनसँग १२५ सांसदको हाराहारीमा मात्रै सांसद हुन्छन् । बहुमतका लागि १३६ आवश्यकता पर्ने अवस्था छ । 

    एमालेको नेपाल पक्षका प्रत्यक्ष तर्फका १९ जनाले राजीनामा दिँदा प्रतिनिधि सभामा सांसद संख्या २५२ हुन्छ । बहुमतका लागि १२७ सांसद आवश्यक हुन्छ । नेपाल पक्षका १९ जनाले राजीनामा दिँदा पनि बहुमत जुटाउन सकस नै हुनेछ ।

    एमाले वरिष्ठ नेता नेपाल, नेता भीम रावललगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएकै दिन राजीनामा दिनुपर्ने पक्षमा रहेका थिए । उनीहरुले राजीनामाको तयारी नै गरेका थिए तर दोस्रो तहका नेता सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतले असहमति जनाएपछि बैठकमा अनुपस्थित भएको जनाइएको थियो ।

    तर प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएर राष्ट्रपतिले संयुक्त सरकार बनाउन दिएको समयसीमा सकिन लागेपनि राजीनामालाई लिएर नेपाल पक्ष एकमत हुन सकेको छैन । नेपाल र रावलले सरकार गठनको तयारी गर्न भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई राजीनामा दिने प्रतिवद्धता समेत गराइसकेका छन् ।

    रावललगायत नेता सांसद पदबाट राजीनामा दिनुपर्ने पक्षमा रहेका छन् । उनले ट्विटरमा प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न सांसद पदबाट राजीनामा दिनुपर्ने लेखेका छन् । 

    उनले ट्वीट गरेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित छ ।’

    नेता घनश्याम भुसालले फेरि प्रतिनिधिसभा विघटन गर्ने खेल भइरहेको बताएका छन् । निर्वाचनका नाममा प्रतिनिधिसभा विघटन गराएर आफूहरुसँग बदला लिन लागिएको भुसालको भनाइ छ । भुसालले फेसबुकमा लेखेका छन्, ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनर्स्थापित हुँदा दोस्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन ।’

    भुसालले झलनाथ खनाल र माधवकुमार नेपाललाई गाली गरेर एमाले विभाजन गरिन लागेको तर्क गरेका छन् । उनले लेखेका छन्, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।’

    नेपाल पक्षले फागुन २८ गते र त्यसपछि बसेका बैठक र त्यसले गरेका निर्णय फिर्ता लिनुपर्ने र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटम लाइन भएको बताउँदै आएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा नेपाल पक्षका २८ सांसद उपस्थित भएनन् । उनीहरुले मत नदिँदा ओलीको पक्षमा ९३ सांसदले मत आएको थियो ।

    युवा नेता राजीनामाभन्दा पनि पार्टीभित्रै संर्षघ गर्नुपर्ने पक्षमा रहेका छन् । उनीहरुले विद्रोह वा आत्मसमर्पण दुबै नभई नयाँ उचाइको एकतामा लाग्नुपर्ने बताएका छन् । सुनसरी क्षेत्र नम्बर १ का सांसद जयकुमार राईले पार्टी विभाजन हुने भए आफूले राजीनामा नदिने बताए ।

    आफू पार्टी एकताको पक्षमा रहेको सांसद राईको भनाइ छ । ‘राजीनामाले पार्टी विभाजन हुन्छ भने म त्यो पक्षमा छैन,’ उनले भने ।

    उनका अनुसार अहिले यो देशको हितमा छैन । पार्टीका लाखौं कार्यकर्ताको हितमा पनि छैन । ‘लाखौं कार्यकर्ता पार्टी एकताका पक्षमा छन्,’ सांसद राईले भने, ‘अहिले कोरोनाको यत्रो महामारी सबै एकजुट भएर यसको सामना गर्नुपर्ने हो । तर हाम्रा नेता झगडामा लागेका छन् ।’

    राईले नेताहरुलाई झगडा छाडेर वार्ता र सहमतिका साथ अगाडि बढ्न पनि आग्रह गरेका छन् । 

    जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव आफ्नो निर्णयबाट पछि हटेका छन् । विपक्षी गठबन्धनमा लागेको यो समूह मध्यमार्गी धारमा देखिएको छ । डा. भट्टराई महन्थ ठाकुर र राजेन्द्र महतो सहितलाई बोलाएर पदाधिकारी बैठक बसेको छ ।

    बैठकमा बिहीवारसम्ममा एकीकृत विचार बनाउने प्रयत्न गर्ने निर्णय भएको डा. भट्टराईले बताए । बैठकपछि भट्टराईले पदाधिकारी बैठकमा विभिन्न विचार आएको बताएका छन् । उनले भने, ‘एकीकृत विचार बनाउने प्रयन्न लागेका छांै, निष्कर्ष भने निकालेका छैनौं ।’ भट्टराईले पार्टीको सम्पूर्ण पक्षले एउटै धारणा बनाउने गरी अगाडि बढेको बताएका छन् । 

    विश्वासको मतपछि विपक्षी कांग्रेस सभापति देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्ना नेता उपेन्द्र यादवको संयुक्त विज्ञप्ति सरकार बनाउन नभई राष्ट्रपतिको ध्यानाकर्षण गराउन रहेको उनको तर्क रहेको छ । ‘प्रधानमन्त्रीले संसद विघटन गरेर असंवैधानिक काम गर्नुभएको थियो । विश्वासको मतपछि पनि त्यस्तै हुन्छ कि भनेर ध्यानाकर्षण मात्रै गराइएको हो । सरकार बनाउन भनेर कुनै सहमति भएको छैन,’ उनले भने, ‘राष्ट्रपतिबाट संविधानअनुसार सरकार बनाउन आह्वान भयो, अहिले संविधानभित्रै छौं, यसैभित्र सहमतिमा जान्छौं ।’ 

    भट्टराईले १ वर्षभित्र निर्वाचन गराउनुपर्ने प्रस्ताव गरेका छन् । ट्वीट गर्दै भट्टराईले देशको संकट समाधान गर्न १ वर्षमा निर्वाचन गराउनुपर्ने प्रस्ताव अघि सारेका छन् । 

    भट्टराईले पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने जनाएका छन् । सबै दलको सहभागितामा राष्ट्रिय सरकार गठन गर्नुपर्ने भट्टराईको भनाइ छ । दलका प्रमुख र पूर्व प्रधानमन्त्री रहेको निर्देशन समिति गठन गर्नुपर्ने, कोरोना नियन्त्रण, द्वन्द्वकालीन मुद्दा, संविधान संशोधन, आर्थिक राहतलगायत लागू गर्नुपर्ने र १ वर्षभित्र चुनाव गर्नुपर्ने प्रस्ताव उनले अघि सारेका छन् ।

    जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतोले बुधवार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । उनीहरुले जसपाको प्रथम अध्यक्ष ठाकुर भएको र निर्वाचन आयोगमा पनि प्रथम अध्यक्षकै हस्ताक्षर चल्ने भन्दै अरु कोही आए वैधता नदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend