काठमाडौं – नेकपा एमालेले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारवाही गर्ने तयारी गरेको छ ।
संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार विश्वासको मत लिँदा अनुपस्थित हुने एमाले सांसदलाई कारवाही गरिने भएको छ ।
पार्टी अध्यक्ष समेत रहेका ओलीलाई विश्वासको मत नदिने भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २० निर्वाचित र ८ समानुपातिक गरी २८ सांसद अनुपस्थित भएका थिए । एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले ह्वीप उल्लंघन गम्भीर घटना भएकाले राजनीतिक दल सम्बन्धी ऐन र एमालेको विधानबमोजिम कारबाही हुने बताएका छन् ।
नेता नेपाल पक्षको सोमवार नै बसेको बैठकले प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगरी अनुपस्थित हुने निर्णय गरेको थियो । सामूहिक राजीनामा दिने चर्चाबीच नेपाल पक्षमै मतभेद भएपछि अनुपस्थित हुने निर्णय भएको थियो ।
अनुपस्थित समानुपातिक सांसदलाई कानूनबमोजिम ह्वीप उल्लंघन गरेका कारण तत्कालै पदमुक्त गरेर बन्दसूचीमा रहेका उम्मेदवार जिताउनेबारे नेतृत्व तहमा छलफल भएको स्रोतको दाबी गरेको छ । ८ समानुपातिक सांसदहरु रामकुमारी झाँक्री, कल्याणी खड्का, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पा कर्ण, कलिला खान, लक्ष्मीकुमारी चौधरी र निरादेवी जैरीलाई ह्वीप उल्लंघन गरेको आरोपमा पदमुक्त गर्नेबारे छलफल भएको छ ।
प्रत्यक्ष निर्वाचित २० सांसदको हकमा अहिले केही नगर्ने र पार्टी एकताका लागि अझै मौका दिइने एमालेका एक केन्द्रीय नेताले जानकारी दिए । नेपाल पक्षले ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एमालेलाई २०७५ जेठ २ गतेकै अवस्थाबाट अघि बढाउनुपर्नेमा जोड दिँदै आएको छ ।
तर ओली पक्षले नेपाल सहितलाई कारवाही गर्दै अघि बढेपछि पार्टीभित्र विवाद बढ्दै गएको स्रोत बताउँछ । नेपाल पक्षका नेता योगेश भट्टराईले पार्टी एकता बचाउन सांसद पदबाट राजीनामा नदिने निर्णय भएको बताउँदै छलफल जारी रहेको बताएका छन् ।
नेपाल पक्ष नेता भट्टराईका साथै घनश्याम भुसाल, गोकर्ण विष्ट र ओली पक्षका नेता सुवास नेम्वाङ, विष्णु पौडेलबीच सोमवार पनि पार्टी एकता बचाउने विषयमा छलफल भएको छ । नेपाल पक्षका सांसद बैठकमा भट्टराई, भुसाल, विष्ट सहितका नेताले अहिल्यै राजीनामा दिनुभन्दा प्रधानमन्त्री ओलीले लिने विश्वासको मतमा तटस्थ उभिनु सबैभन्दा उपयुक्त हुने सुझाव दिएका छन् ।
नेताहरु भीम रावल, झपट रावल, सरला यादव, मेटमणि चौधरी सहितले तत्काल राजीनामा दिनुपर्ने पक्षमा सुझाव दिएका थिए । नेपाल समूहको सांसदको निर्णयपश्चात् प्रत्यक्षतर्फका २० र समानुपातिकतर्फका ८ सांसदले पार्टी ह्वीप उल्लंघन गर्दै बैठकमा अनुपस्थित भएका छन् ।
प्रधानमन्त्री ओलीले सोमवार नै एमाले उपाध्यक्ष बामदेव गौतमसँग छलफल गरेका छन् । ओलीलाई दबाब दिँदै आएका गौतमले ओलीले पार्टी एकता जोगाउने संकेत नपाएपछि नेपाल पक्षमा जाने बताएका छन् । ओलीसँगको भेटघाटपश्चात गौतमले आफ्नो धारणा सर्वाजनिक गर्दै पार्टी विभाजन भए नेपाल समूहमा जाने बताएका छन् ।
ओलीसँगको भेटमा गौतमले २०७५ जेठ २ गतेकै अवस्थाबाट पार्टी अघि बढाउनुपर्ने प्रस्ताव गरेको तर ओलीले आफू त्योभन्दा धेरै अघि बढिसकेको जवाफ दिएपछि गौतमले ओलीलाई साथ दिन नसक्ने बताएको स्रोतले जनाएको छ ।
प्रतिनिधिसभा विशेष अधिवेशनमा अनुपस्थित एमाले सांसदमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, गणेश पहाडी, जयकुमार राई, यज्ञराज सुनुवार, नारायण खतिवडा, पवित्रा निरौला खरेल, भवानी खापुङ, दीपकप्रकाश भट्ट, विरोध खतिवडा, पुष्पाकुमारी कर्ण, झपट रावल, मेटमणि चौधरी, सरला यादव, कृष्णलाल महर्जन, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खातुन र लक्ष्मीकुमारी चौधरी छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।