काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मन्त्रिपरिषद् बैठक राखेर अधिवेशन अन्त्यका लागि सिफारिस गरे ।
सिफारिस बोकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न तुरुन्तै शितलनिवास पुगेका प्रधानमन्त्री ओलीका कुरा सुनेपछि कानूनविद्सँग परामर्श सुरु भएको छ ।
प्रधानमन्त्री ओली राष्ट्रपति भवन पुगेर केही कुराकानी भएपछि अहिले कानूनी विषय भइरहेको शितलनिवास स्रोतले जनाएको छ ।
राष्ट्रपति भण्डारीले आगामी कदमबारे कानूनी परामर्श लिइरहेका स्रोतले जनाएको छ । यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन् ।
स्रोतले भन्यो, ‘अब संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गर्ने कि उपधारा (३) अनुसार संसदको ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने भन्नेबारे छलफल र परामर्श हुँदैछ ।’
कानूनविद्सँगको परामर्शपछि राष्ट्रपति भण्डारीले कदम चाल्ने स्रोतले जनाएको छ ।
यसअघि सोमबार दिउँसो प्रतिनिधिसभा संसदमा विश्वासको मत लिने कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव फेल भएको थियो । प्रतिनिधिसभा बैठकको मत विभाजनमा कूल २३२ सांसद उपस्थित रहेकोमा प्रधानमन्त्री ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर समूहका १५ सांसद तटस्थ बसेका छन् भने एमालेको वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसद बैठकमा अनुपस्थित भए ।
यसरी संविधानको धारा ७७ को उपधारा (१) (ख) मा विश्वासको मत प्राप्त नभएमा प्रधानमन्त्री स्वतः पदमुक्त हुने प्रावधान छ ।
प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्थासम्बन्धी धारा ७७ को उपधारा (१) (ख) मा उल्लेख छ, ‘धारा १०० बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजविरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा ।’
नेपालको संविधानको धारा १०० को उपधारा ३ मा पनि प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था रहेको छ । त्यहाँ उल्लेख छ, ‘उपधारा (१) र (२) बमोजिम पेश भएको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ ।’
संविधानको धारा १००(१) अन्तर्गत विश्वासको मत सम्बन्धी व्यवस्था अनुसार मतदान भएको थियो ।
अब राष्ट्रपतिको आह्वानमा संविधानको धारा ७६ अन्तर्गत प्रधानमन्त्रीको खोजी हुने भएको छ । संसदमा एकल बहुमत प्राप्त दल नरहेको अवस्थामा संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको गठबन्धनमा सरकार गठन हुने व्यवस्था छ ।
विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी छलफल अगाडि बढाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।