काठमाडौं – प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले अब सरकारी निवास बालुवाटार छाड्नुपर्ने भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको विपक्षी गठबन्धनले सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री बनाउने प्रक्रिया अगाडि बढाइसकेको छ ।
ओलीले विश्वासको मत प्राप्त नगरेपछि सोमबारै बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले आज सोमबारै राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न सिफारिस गरेको जनाइएको छ । संसद बैठक बोलाइएको प्रयोजनको काम सकिएपछि अधिवेशन अन्त्य गर्ने प्रस्ताव प्रधानमन्त्रीले ओलीले बैठकमा सुनाएका एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन बोलाउने र समापन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
सोमवारको प्रतिनिधिसभा बैठक सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैशाख ३० गते अर्को बैठक बोलाएका छन् । तर ओलीले अधिवेशन नै अन्त्य गराउँदैछन् ।
विश्वासको मत प्राप्त गर्न ओलीलाई १३६ मत आवश्यक रहेको थियो तर ओलीले जम्मा ९३ मत मात्रै पाएका छन् । ओलीको विपक्षमा १२४ मत रहेको छ । मत दिन्न भन्ने वा तटस्थ पक्षमा १५ मत परेको छ । प्रतिनिधि सभामा कूल २३२ सांसद उपस्थित रहेका थिए ।
प्रतिपक्षमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा लगायतले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएनन् । नेकपा एमालेकै माधव नेपाल समूहका सांसदहरु समेत बैठकमा अनुपस्थित भएर विश्वासको मत लिने ओलीको कदमलाई असहयोग गरेपछि ओलीलाई ठूलो धक्का लागेको थियो ।
कूल २७५ सदस्यीय प्रतिनिधि सभामा ४ सांसद रिक्त रहेकाले हाल २७१ सदस्य रहेका छन् । यसरी सरकार बनाउन १३६ सांसदको समर्थन चाहिने देखिएको छ । अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ (२ निलम्बित) सांसद रहेका छन् भने ३ जना स्वतन्त्र सांसद रहेका छन् ।
मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । विश्वासको मत गुमाएपछि ओली शितलनिवास गएर राष्ट्रपति भण्डारीलाई भेट्नुलाई चासोका साथ हेरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।