आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेभित्र ‘मारामार’ चल्दा आज केपी ओलीको अग्निपरीक्षा : यस्तो छ संसदको अंकगणित

एमालेभित्र ‘मारामार’ चल्दा आज केपी ओलीको अग्निपरीक्षा : यस्तो छ संसदको अंकगणित

  • मिडिया डबली
  • सोमवार, बैशाख २७ २०७८

  • 7.1K
    SHARES

  • एमालेभित्र ‘मारामार’ चल्दा आज केपी ओलीको अग्निपरीक्षा : यस्तो छ संसदको अंकगणित

    काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमवार स्वेच्छिक विश्वासको मत लिँदैछन् ।

    विपक्षी शक्तिको गठबन्धन र आफ्नै पार्टी एमालेको तिक्ततापूर्ण कलहबीच उनी आफूमाथि संसदको विश्वास खोज्दैछन् । 

    नेता माधवकुमार नेपाल र झलनाथ खनालले ओलीविरुद्ध समानान्तर कमिटी देशव्यापी बनाउँदै लगेका छन् । ओलीलाई विश्वास दिनुअघि नै राजीनामा गर्ने नेपाल पक्षको धम्की अन्तिम घडीसम्म छँदैछ । त्यसैले ओलीको विश्वास पाउन सबैभन्दा ठूलो चुनौती ‘आन्तरिक विश्वासकै संकट’ बनेको छ । 

    ओली नेतृत्वमा २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन एमाले–माओवादी गठबन्धनले झण्डै दुईतिहाइ मत पाएको थियो । त्यही बलमा सत्तामा आएका ओलीको राजनीतिमा ३८ महिना सुखद रहेनन् । २७५ जनाको प्रतिनिधि सभामा एमालेले १२१ र माओवादी केन्द्रले ५३ सिट ल्याए । २०७४ फागुन ३ गते संविधानको धारा ७६ (२) बमोजिम ओलीको नेतृत्वमा एमाले र माओवादीको संयुक्त सरकार बन्यो ।

    २०७५ जेठ ३ गते एमाले र माओवादीबीच एकीकरण भई नेकपा बन्यो तर ओलीलाई सत्ताबाट ओराल्ने आन्तरिक खेल बढ्दै गयो । त्यसमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालको मोर्चाबन्दी भयो । त्यसकै सेरोफेरोमा राजनीति २ वर्ष मडारियो ।

    अन्ततः प्रतिनिधिसभा विघटन, पुनःस्थापना र नेकपा एकीकरण खारेजीको अदालती फैसलासँगै त्यसले नयाँ मोड लियो । 

    नेकपा विवादको चरण–चरणमा प्रचण्ड–नेपाल मिलेर ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासनको निर्णय गरेका थिए । नेपाल दोस्रो अध्यक्ष र प्रचण्ड संसदीय दलको नेता घोषित भएका थिए । जब एमाले–माओवादी छुट्टिए, नेपाल समूहसहित एमालेमै फर्किए । 

    तर पुरानो अहम्मा दुबै नेता अल्झिए । फागुन २८ गते ओलीले आफू पक्षीय नेताहरुको मात्र भेला गराएर महाधिवेशन आयोजक समिति बनाए । त्यसमा अध्यक्ष र महासचिव बाहेक सबै पद खारेज गरिए । नेपाल पक्षका नेताहरु जिम्मेवारीविमुख गराइए । माओवादी केन्द्रबाट आएका २२ नेताले जिम्मेवारी पाए । 

    नेपालले अहिले त्यही निर्णय खारेजीको अडान राख्दै आएका छन् । ओली भने त्यसलाई कायमै राख्न चाहन्छन् । यही अहम्का कारण पार्टी फुट्ने चरणमा पुगेको छ । नेपालसहित एमालेकै नेता ओलीलाई सत्ताच्युत गराउने अभियानमा लागेका छन् । त्यही परीक्षामा ओलीले आफूलाई उतारेका छन् । 

    नेता नेपाल पक्ष राजीनामा असस्त्र प्रयोग गरेर पार्टीमा आफ्नो माग पूरा गराउन प्रयासरत छन् । उनीहरुले सोमवार बिहान ९ बजेसम्मका लागि अध्यक्ष ओलीलाई आफ्ना माग पूरा गर्न समय दिएका छन् । 

    एमालेको माधव पक्षका सांसदले राजीनामा बुझाउने चेतावनी दिएका छन् । विशेष अधिवेशन सुरू हुनु पूर्व सामूहिक राजीनामा दिने नेपाल पक्षका सांसद मेटमणि चौधरीले बताए । ‘आइतवारै बुझाउने भनेको हो । तर तयारी पुगेन । सोमवार साढे ९ बजे नै सिंहदरबार पुगेर राजीनामा दिन्छौं,’ सांसद चौधरीले भने ।

    चौधरीले समानुपतिक समेत गरेर राजीनामा दिने सांसदको संख्या ३० जना हुने दाबी गरेका छन् । पार्टी एकता विषयमा माधव नेपाल तथा ओली पक्षका सुवास नेम्वाङ र विष्णु पौडेलबीच आईतवार सिंहदरबारमा वार्ता भयो । संवादले कुनै प्रगति भएन । 

    गत बुधवारबाट पार्टी एकढिक्का बनाउने विषयमा संवाद सुरूआत भएको थियो । दोस्रो तहका नेताको प्रयास सफल हुन सकेन । नेम्वाङ, पौडेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट र घनश्याम भुसालबीच पटक–पटक छलफल भयो । कार्यदल बनाएर अघि बढ्नेसम्मको सहमति भयो । तर नेपाल अडानबाट पछि नहटेपछि निष्कर्षमा पुग्न  सकेन । 

    नेता नेपाल पक्षको २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने अडान कायमै छ । संस्थापन पक्ष जेठ २ गतेको अवस्थामा फर्किनु परे पनि पार्टीबाट छलफल गरेर निष्कर्षमा पुग्न सकिने बताउँदै आएको छ । संस्थापन पक्षका एक नेताले भने, ‘प्रधानमन्त्रीले भन्नुभएको छ, पार्टीमा आउनुहोस्, यही छलफल गरौं, जहाँ फर्किने हो, त्यो छलफल पछि निष्कर्षमा पुगौं । तर उहाँहरु छलफलमै नआउने, छुट्टै हिँड्ने, राजीनामाको हल्ला चलाउने अनि कहाँ निष्कर्षमा पुगिन्छ त ?’ एमालेको उपनेता सुवास नेम्वाङले निश्ष्कर्षमा नपुगे पनि संवाद जारी रहेको बताएका छन् । 

    नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले कसैलाई काखापाखा वा पक्षपात नगर्ने स्पष्ट पारेका छन् । भ्रम फैलाएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पक्षपात नगरेको उनको दाबी छ । ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान् कार्यमा सरिक हुन समेत आह्वान गरेका छन् । 

    ‘यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो । यस पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुर्‍याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छु,’ अध्यक्ष ओलीले भनेका छन्, ‘भ्रम फैलाइए जस्तो र हल्ला चलाइए जस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन । म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु ।’

    ओलीले राणा शासनको अन्धकार युगमा सुन्दर भविष्य र संकल्पका साथ स्थापित, संगिठत र सक्रिय भई अघि बढेको वामपन्थी आन्दोलन धेरै शहीदको बलिदान, धेरै अग्रजका मार्गदर्शन र योगदानबाट यहाँ  आइपुगेको स्पष्ट पारेका छन् । ‘राष्ट्रिय राजनीतिको मूल प्रवृत्ति र प्रवाह बनेको छ,’ ओलीले भनेका छन्, ‘जनताको आशा भरोसा र विश्वासको केन्द्र यो पार्टी – नेकपा एमालेलाई अझ सुदृढ र एकताबद्ध बनाउँदै अगाडि बढाउनुपर्ने प्रमुख दायित्व आजको पुस्ताको हो ।’

    अध्यक्ष ओलीले माधव नेपाल पक्षका गतिविधितर्फ लक्षित गर्दै कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इष्र्या रहेको बताए । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउन नहुने उनको भनाइ छ ।

    ‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन्,’ ओलीले भनेका छन्, ‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त होइनन् र यी हानिकारक छन् ।’ 

    ओलीले इतिहासले कसैलाई माफी नगर्ने समेत बताएका छन् । ‘यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु,’ ओलीले भने ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदलाई ह्वीप समेत जारी गरेको छ । संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदलाई पत्र लेखेर सोमवारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई विश्वासको मतको पक्षमा मत दिन निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री ओलीले वैशाख २७ गतेको दिनको १ बजे नेपालको संविधानको धारा १०० उपधारा १ बमोजिम विश्वासको मत लिने कार्यसूची छ ।

    राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान २०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेको प्रमुख सचेतक भट्टराईले बताए । कोभिडको कारण प्रतिकूल अवस्थाका संसद अधिवेशनको पूर्वसन्ध्यामा संसदीय दलको बैठक राख्न सम्भव नभएको पनि भट्टराईले स्पष्ट पारेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend