काठमाडौं – नेकपा एमालेभित्र असन्तुष्ट नेता माधवकुमार नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिने चर्चाबीच प्रधानमन्त्री केपी शर्मा ओलीका २ जना दूतहरू सिंहदरबार पुगे ।
ओली समूहका नेताहरू सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलले फकाउन खोजेपनि सहमति जुट्न सकेन । नेता नेपाल समूहका मागलाई ओलीले बेवास्ता गरेपछि असन्तुष्टि रहेको छ ।
ओली समूहसँगको छलफल निष्कर्षविहीन भएपछि नेपाल समूहका सांसदले छुट्टै छलफल सुरु गरेका छन् । संघीय संसदको सार्वजनिक लेखा समितिको बैठक कक्षमा नेपाल समूहका सांसदहरूको बैठक चलिरहेको छ ।
बैठकमा नेपाल समूहका प्रत्यक्ष र समानुपातिक सांसदहरु सहभागी रहेका जनाइएको छ ।
आईतवार दिउँसैदेखि नेपाल समूहका सांसद राजीनामाको तयारीसहित संसद सचिवालयमा जम्मा हुन थालेपछि ओली समूहले नेता नेम्बाङ र पौडेल राजीनामा रोक्न सक्रिय भएका हुन् ।
नेता नेम्वाङले छलफलमा कुरा सकारात्मक नभएको जानकारी दिए । ‘पार्टी अध्यक्ष र नेता नेपालबीच फोनमा कुराकानी भएपछि हामीलाई यहाँ पठाउनुभएको हो । पार्टी एकताका लागि हामी एकजुट छौं । तर एकजुट कसरी राख्ने भन्ने विषयमा सहमति हुन सकेको छैन । अझै छलफल गर्छौं,’ नेम्वाङले भने ।
यसअघि ओलीसँग नै माधव नेपालले छलफल गरेपनि सहमति जुट्न सकेको थिएन । अब नेपाल पक्षका सांसदले राजीनामाको तयारी अगाडि बढाउने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।