काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउन थुप्रै प्रयास गरेपनि नेपाली राजनीतिको पासा पल्टिएको छ ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्तावबारे निर्णय लिन सोमबार प्रतिनिधिसभा बैठक बस्नुअघि राजनीतिक चहलपहल बढेको छ । नेकपा एमाले सांसदले सामूहिक राजीनामा दिने निर्णयसँगै जसपाको पूरै हिस्सा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा आउने देखिएको छ ।
प्रधानमन्त्री ओलीको समर्थनमा देखिँदै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नु आईतबार बिहानै बुढानिलकण्ठ पुगेका छन् ।
कांग्रेस सभापति देउवा र जसपा अध्यक्ष ठाकुरबीच आगामी सत्ता समीकरणबारे छलफल हुने स्रोतले जनाएको छ ।
नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिने निर्णय गरेसँगै जसपाको ठाकुर पक्ष सभापति देउवासँग नजिकिन थालेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष यसअघिदेखि नै विपक्षी गठबन्धनसँग नजिक रहेको छ ।
नेपाली कांग्रेसले देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेको छ । देउवा नेतृत्वको सरकारलाई नेकपा माओवादी केन्द्र र जसपाले समर्थन गरेर बहुमत पुग्ने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।