काठमाडौं – असन्तुष्ट नेता माधवकुमार नेपालसँग राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मध्यराति सहमति गराएपछि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्ष नेताको आकस्मिक बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले आज बिहीबार शीर्ष नेताहरुसँग बालुवाटारमा बैठक बस्दैछ ।
बैठकमा राष्ट्रपति भण्डारीलाई साक्षी राखेर नेता नेपालसँग भएको सहमतिलाई मूर्तरूप दिन, बाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि जेठ ६ गते हुने उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्न र बैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिनेबारे छलफल हुने एमाले स्रोतले जनाएको छ ।
राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि आज बिहीबार १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको मनोनयन गर्नुपर्ने जनाइएको छ । एमालेले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार बनाउने तयारी गरेपनि हार्ने अवस्था देखिएपछि निर्णय गरिसकेको छैन ।
यसअघि, नेकपा एमालेभित्र विवाद चर्किएर विभाजनको अवस्थामा पुगेका बेला राष्ट्रपति भण्डारीलाई साक्षी राखेर अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेता नेपालबीच मध्यराति शितलनिवासमा भेटवार्ता भएको थियो । दुबै नेताबीच निर्णायक ठानिएको छलफल मध्यराति १२ बजेसम्म चलेको स्रोतले जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर शितलनिवास पुगेका माधव नेपालसँग राष्ट्रपतिले कुरा गरिरहेकै बेला प्रधानमन्त्री ओली समेत छलफलमा सहभागी भएका थिए । यसरी छलफल त्रिपक्षीय बनेको थियो ।
दुबै नेताबीच राष्ट्रपति भण्डारीको उपस्थितिमा सहमति नजिक पुगेको जनाइएको छ । नेता नेपालले ओलीबाट थप कारवाही नहुने ग्यारेन्टी राष्ट्रपति भण्डारीको उपस्थितिमै चाहेको र सहमतिको दिशामा अघि बढेको जनाइएको छ ।
राष्ट्रपति भण्डारीले ओली र नेता नेपालसँग बिहीबार अलग–अलग छलफल समेत गरेकी हुन् । ‘मध्यरातिसम्म शितलनिवासमा भएको छलफलले नयाँ घटनाक्रमतर्फ अघि बढाएको छ । अहिले प्रधानमन्त्री आन्तरिक छलफलमा हुनुहुन्छ, सम्भवतः केही नयाँ सन्देश आउने छ,’ स्रोतले भनेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।