काठमाडौं – नेकपा एमाले भित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु दौडधुपमा रहेका छन् ।
अध्यक्ष केपी ओली पक्षधर नेता तथा अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग छलफल गरेका छन् ।
बुधवार उपप्रधानमन्त्री ईश्वर पोखरेलले योगेश भट्टराई र गणेश पहाडीसँग छलफल गरेका छन् ।
बिहीवार साँझ नै प्रधानमन्त्री ओलीसँग मन्त्रीहरु लीलानाथ श्रेष्ठ र पार्वत गुरुङ लगायतले विवाद मिलाउनुपर्छ भन्दै छलफल गरेका थिए । बुधवार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको विवाद निरुपण गरेर अघि बढ्न ओलीलाई सुझाव दिएका थिए । २ समूहबीच संवाद सुरु भएको र यसलाई सकारात्मक रुपमा लिएको नेपाल पक्षका नेताले बताएका छन् भने ओली पक्षधर नेता पनि छलफल सकारात्मक दिशामा उन्मुख गराउनुपर्छ भन्दै लागेका छन् ।
नेता पाण्डे र विष्टसँगको कुराकानीमा पौडेलले पार्टी एकता कायम राख्न प्रस्ताव गरेको बताइएको छ । पाण्डे र विष्टले भने फागुन २८ गतेको निर्णय सच्याए विवाद सुल्झन समय नलाग्ने बताएका थिए ।
कुराकानीपछि पाण्डेले भेटघाटको शुरूआत भएको बताए । ‘यसलाई हामीले कुराकानीको शुरूआती चरण मानेका छौं । खुलेरै कुराकानी भयो, यसले तत्कालै परिणाम आउन सक्दैन तर केही राम्रो हुने अपेक्षा गरेका छौं,’ पाण्डेले भनेका छन् ।
उनीहरूसँग कुराकानी गरेपछि पौडेल मन्त्रिपरिषद्को बैठकमा भाग लिन बालुवाटार गएका थिए । मन्त्रिपरिषद् बैठक सकिएपछि ओलीसँग पौडेलले छुट्टै कुराकानी गरेका थिए भने अन्य मन्त्रीले विवाद मिलाएर जान सुझाव दिएका छन् ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई विवाद निरुपण गर्ने आश्वासन दिएको भए पनि उपायबारे भने बताएका छैनन् ।
नेता पौडेल, पाण्डे र विटबीच छलफल हुनुअघि बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेतालाई गरिएको कारवाही फुकुवा गर्ने विषयमा छलफल भएको थियो । त्यसक्रममा अध्यक्ष ओलीले नेपाल पक्षलाई गरिएको कारवाही फुकुवा गर्ने संकेत गरेका थिए ।
कारवाही फुकुवा गरौं, पार्टी एक बनाएर लैजाऔं र सरकारलाई पनि जोगाऔं भन्ने मत आएपछि ओलीले नेपाल लगायतका नेतामाथिको कारबाही फुकुवा गर्ने संकेत गरेको बैठकमा सहभागी एक सदस्यले बताएका छन् ।
बैठकमा राष्ट्रिय राजनीतिको विषयमा विभिन्न कोणबाट कुराकानी हुँदा पार्टीभित्रको विवादबारे पनि छलफल भएको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् । ‘माधव नेपाल लगायतका साथीहरुलाई गरिएको कारबाही फुकुवा गरेर जाने कि भन्नेबारे छलफल भयो तर निष्कर्षमा पुगिएको छैन,’ नेम्वाङले भने ।
नेम्वाङका अनुसार छलफल सकारात्मक दिशातर्फ उन्मुख भएको छ । अध्यक्ष ओलीले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गरेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टीबाट निलम्बन गरेका छन् ।
अध्यक्ष ओलीले कारवाहीको विषयलाई बैठकको एजेन्डाका रूपमा अघि सारेपछि उनीहरुलाई कारवाही फुकुवा गर्ने, विश्वासको मत लिने, पार्टी एकता बचाएर लैजानुपर्ने मत बलियोसँग उठेको थियो । अध्यक्ष ओलीले फागुन २८ गते आफ्नो पक्षका नेताहरुको मात्र बैठक राखेर विधान संशोधन, पदाधिकारी हटाउने, केन्द्रीय सदस्य थप गर्ने लगायतका निर्णय गरेपछि नेपाल पक्षले चैत ४–५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो ।
फागुन २८ गतेको निर्णय खारेज गरी ओली विधान बमोजिम अघि बढे पार्टी एकता कायम हुने नेता भीम रावलले बताएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।