काठमाडौं - राजनीतिमा अडान र दृष्टिकोण कति महत्वपूर्ण हुन्छ भन्ने कुरा एमालेको माधव नेपाल पक्षले गरेको एउटै निर्णय काफी हुन्छ । प्रधानमन्त्री केपी ओली अहिलेसम्म आफूलाई कसैले केही गर्न सक्दैन, मैले गरेको निर्णय नै सही हो भन्दै हिँडेका थिए ।
कतिसम्म भने उनले आफ्ना विरोधी माधव नेपाल पक्षका केही सांसद र नेतालाई समेत पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही पनि गरे । तर, अहिले नेपाल पक्षकै एउटा निर्णयले ओली रक्षात्मक अवस्थामा पुगेका छन् । आफ्नो कुर्सी जोगाइदेऊ भन्दै विपक्षी पार्टीको नेताको दैलोमा बिन्ती हाल्न पुगेका छन् ।
माधव पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपासँग मिलेर खिमलाल देवकोटालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेपछि ओलीको अहिलेसम्मको दम्भ र अहंकार एकैपटक तोडिएको छ ।
ओलीले हालै माओवादीबाट आएका रामबहादुर थापा बादललाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने पार्टी निर्णय गराएका थिए । तर त्यसलाई चुनौती दिँदै माधव पक्षले देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि ओलीले बिहीबार अचानक स्थायी कमिटी बैठक राखे ।
देवकोटा लोकप्रिय युवा नेता र बौद्धिक भएकाले उनको अगाडि बादल फिक्का हुने देखिएपछि सम्भवतः भोलि (शुक्रबार) एमालेले अर्कै उम्मेदवार उठाउने भएको छ ।
माओवादी केन्द्र छाडेर प्रचण्डलाई धोका दिएका बादललाई एमालेमा पहिलोपल्ट नै ठूलो झड्का लाग्ने चर्चा सुरु भएको छ । यदि माधव पक्षले देवकोटालाई उम्मेदवार उठाएमा एमालेका अधिकांश जनप्रतिनिधिको भोट बादललाई नजाने चर्चा सुरु भइसकेको छ । त्यसैले अहिले बादल खेमामा भुइँचालो गएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।