काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता पौडेल पदभार ग्रहण गरेको पहिलो दिनमै बदनाम भएकी छन् ।
आज बुधवार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर नवनियुक्त प्रदेश प्रमुख पौडेलले दिएको अभिव्यक्तिको कडा विरोध गरेका छन् ।
आज बुधबार पदबहालीका क्रममा प्रदेश प्रमुख पौडेलले विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । पौडेलले गण्डकी प्रदेशसभा प्रतिपक्षका कारणले अवरुद्ध भएको अभिव्यक्ति दिएकी थिइन् । पौडेलले सभामुख नेत्रनाथ अधिकारीको राजीनामा माग्ने बेला भएको पनि बताएपछि उनी विवादमा तानिएकी छन् ।
पौडेलको अभिव्यक्तिलाई लिएर मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका ३ दलले सामूहिक आपत्ति व्यक्त गरेका छन् । विपक्षी दलहरुले पदको मर्यादा राख्न समेत प्रदेश प्रमुख पौडेललाई आग्रह गरेका छन् ।
‘पदबहालीको क्रममा माननीय प्रदेश प्रमुखज्यूले गण्डकी प्रदेशसभा प्रतिपक्षका कारणले अवरुद्ध भएको भनी दिनुभएको प्रतिक्रिया सर्वथा गलत, भ्रामक र आपत्तिजनक छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘माननीय प्रदेश प्रमुखज्यूले नियम, कानून, ऐनको परिधिभित्र अविश्वासको प्रस्ताव निष्क्रिय भएको भनेर दिनुभएको अभिव्यक्ति अत्यन्त भ्रामक, अराजक, आपत्तिजनक र प्रदेश प्रमुख जस्तो पदको मर्यादा विपरीत छ ।’
सत्ताको पक्षपोषण हुने गरी प्रदेश प्रमुखबाट आएको अभिव्यक्ति अस्वाभाविक र चिन्ताजनक रहेको दलहरूले जनाएका छन् । ‘प्रतिपक्षको संवैधानिक कार्यबाट अत्तालिएर सत्तापक्षको पक्षपोषण हुने गरी आएको अभिव्यक्ति अस्वाभाविक र चिन्ताजनक छ । संविधानको कुन धारा, उपधाराले, ऐनको कुन दफा, उपदफाले वा नियमावलीको कुन नियमले अविश्वासको प्रस्ताव निष्क्रिय हुने हो माननीय प्रदेश प्रमुखज्यूबाट अविश्वास प्रस्तावको प्रस्तावकहरूलाई मार्गदर्शन हुने नै छ,’ विज्ञप्तिमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।