काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणको महामारी दिनदिनै विकराल रूप लिइरहेको छ । तर सरकारले जनतालाई पर्याप्त परीक्षण र उपचारको सुविधा दिन सकेको छैन ।
केही दिनअघि स्वास्थ्य मन्त्रालयले सार्वजनिक अपिल गर्दै सरकारले अस्पतालमा उपचारका लागि शय्या उपलब्ध गराउन नसक्ने गैरजिम्मेवारी वक्तव्यबाजी गरेको थियो । अहिले पनि देशभरका कतिपय अस्पतालमा बिरामीले शय्या पाइरहेका छैनन् ।
आज सोमबार नेपालमा ७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ३० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । संक्रमित र मृतकको संख्या दिनदिनै बढिरहेको छ । सरकारले शवको संख्या गणना गर्ने काम मात्रै गरिरहेको भन्दै सर्वसाधारणमा असन्तुष्टि बढिरहेको छ ।
यस्तो महामारीले जनताले आधारभूत स्वास्थ्य सुविधा समेत नपाइरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान अर्कैतिर देखिन्छ । सत्ता जोगाउने र सत्ता फेर्ने खेललाई प्राथमिकता राख्दै विद्या र केपीको शासकीय जोडीले जनताको पीडालाई बेवास्ता गरेको छ ।
त्यसको एउटा ताजा शृंखला भएको छ गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदल गर्नु । ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीका अमिक शेरचन र सुदूरपश्चिमका शर्मिलाकुमारी पन्तलाई पदमुक्त गर्दै गण्डकीमा सीताकुमारी पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गरेका छन् ।
यतिबेला गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङविरुद्ध विश्वासको प्रस्ताव दर्ता भएर राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अपहरण प्रकरणपछि प्रदेशसभा बैठक स्थगित छ । यस्तो बेला प्रदेश प्रमुख परिवर्तन हुनुलाई चासोका साथ हेरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसद कम छन् । सुदूरपश्चिममा भीम रावलको प्रभाव बढी भएकाले ओलीको इशारामा नेकपा माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार ढाल्न गाह्रो परिरहेका बेला प्रदेश प्रमुख परिवर्तन गरिएको छ ।
कोरोनाको महामारीमा जनतालाई स्वास्थ्य सुविधा दिनुपर्नेमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली सत्ताको फोहोरी खेलमा लागेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।