काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे विपक्षी गठबन्धनमा तयारी भइरहेका बेला अध्यक्ष उपेन्द्र यादवले जनता समाजवादी पार्टी (जसपा) नेपालमा पासा पल्टाएका छन् ।
पार्टीभित्र अल्पमतमा रहेर लामो समय चुपचाप बसेका अध्यक्ष यादव बहुमतमा पुगेपछि भटाभट निर्णय गर्न थालेका छन् । बैशाख १४ गते अध्यक्ष महन्थ ठाकुरको उपस्थिति विना नै अध्यक्ष यादवले राष्ट्रिय कार्यकारिणी समितिको बैठक राखेर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गराएका छन् ।
अध्यक्ष महन्थ ठाकुर पक्ष भने प्रधानमन्त्री ओलीसँगै मिलेर जाने पक्षमा देखिएको छ । अध्यक्ष यादवको नेतृत्वमा भएको बैठकले लुम्बिनी प्रदेशमा पार्टी निर्णय विपरीत मन्त्री बनेका ४ सांसदलाई कारवाही गर्ने र ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने निर्णय भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिगमनकारी काम गरेको हुनाले बहिर्गमन आवश्यक रहेको र पार्टीमा सर्वसम्मतिले निर्णय हुन नसके भने बहुमतको निर्णयबाट ओलीलाई हटाउने गरी तयारी रहेको स्रोतले जनाएको छ । अध्यक्ष यादवको पक्षमा रहेको बहुमतले जसपालाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनमा सहभागी गराउने तथा ओलीलाई हटाएर नयाँ सरकार बनाउने रणनीति लिएको छ ।
अध्यक्ष महन्थ ठाकुर कार्यकारिणी समिति बैठक राख्न सहमत नभएपछि अध्यक्ष यादवले छुट्टै बैठक राखेर बहुमतका आधारमा निर्णय गराएका हुन् । बैठकमा अधिकांश अध्यक्ष यादवकै पक्षका नेताहरूको उपस्थिति रहेको थियो भने महन्थ ठाकुर पक्षका महेन्द्र राय यादव र रमेश यादवको उपस्थिति थियो । यतिबेला महेन्द्र राय र रमेश यादव समेत उपेन्द्र यादवकै पक्षमा लागिसकेका स्रोतले जनाएको छ ।
अध्यक्ष यादव नेतृत्वको बैठकमा ५१ कार्यकारिणी समिति सदस्यमध्ये २६ जनाको उपस्थिति रहेको जनाइएको छ । जसपाका बहुमत सदस्यले प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने भनि निर्णय गरेको जानकारी कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अध्यक्ष यादवले गराइसकेका छन् ।
नेपाली कांग्रेसले अविश्वासको प्रस्तावको प्रक्रिया अगाडि बढाए जसपा नेपालले पुनः कार्यकारिणी समितिको बैठक बोलाएर सर्वसम्मतिको लागि प्रयास गर्ने र पार्टीमा सर्वसम्मतिले नभए बहुमतबाट भएको निर्णयका आधारमा हस्ताक्षरको प्रक्रिया अगाडि बढ्ने स्रोतले जनाएको छ ।
ओली विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न जसपा नेपालका १८ जना सांसद तयार छन् । ‘ओलीको प्रतिगामी कदमविरुद्ध जसपा नेपालका बहुमत सांसद तयारी अवस्थामा छन्, पार्टीले निर्णय गर्ने बित्तिकै हस्ताक्षर गर्नेछन्,’ स्रोतले भन्यो ।
जसपा नेपालमा पूर्व समाजवादी पार्टीका १७ र पूर्व राजपाका १७ गरी ३४ सांसद छन् । त्यसमध्ये रेशम चौधरी जेलमा छन् भने हरिनारायण रौनियार निलम्बनमा परेका छन् । बाँकी रहेको ३२ सांसदमा १८ जना अध्यक्ष उपेन्द्र यादवको पक्षमा रहेका दाबी गरिएको छ । अध्यक्ष यादवले यसरी रणनीति अनुसार अगाडि बढेमा पासा पल्टिने सम्भावना देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।