काठमाडौं – चुनावका बेला मिलेर मैदानमा उत्रिएका नेकपा एमाले र माओवादी केन्द्रको झगडा यतिबेला चर्काे छ । दुवै पार्टीका नेता कार्यकर्ता एकअर्काे पार्टीमा जाने र कारवाही ठोक्ने क्रम चलिरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वार्थ र भागबण्डा नमिल्दा उत्पन्न विवाद अहिले कार्यकर्तास्तरमै पुगेको छ ।
यस्तै क्रममा माओवादी छाडेर एमालेमा लागेका राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’लाई पनि कारवाही भयो । माओवादीले कारवाही गर्दा थापाको ठाउँमा सदस्य पद रिक्त भयो ।
एमाले र माओवादीको झगडाले रिक्त भएको पदमा उपनिर्वाचन गराउनु पर्दा राज्यको करोडौं रुपैयाँ स्वाहा हुने भएको छ । निर्वाचन आयोगका अनुसार एक जना राष्ट्रियसभा सदस्य पदका लागि उपनिर्वाचन गर्दा १ करोड ६१ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
एमाले र माओवादीबीच भएको झगडाले संघीय सांसद, प्रदेश सांसदको पद समेत रिक्त भएका छन् । त्यसमा चुनाव गराउँदा अझै बढी राज्यको ढुकुटी स्वाहा हुने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता तथा निमित्त सचिव राजकुमार श्रेष्ठले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर बजेट निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार भएको जनाएका छन् ।
बागमती प्रदेशबाट रिक्त एक सदस्य पदमा आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि आयोगले राष्ट्रियसभा सदस्य उपनिर्वाचन सञ्चालन आर्थिक कार्यविधि २०७८ समेत पारित गरेको छ ।
कार्यविधि अनुसार निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि १ करोड ६१ लाख ३० हजार रुपैयाँ खर्च लाग्ने बजेट अनुमान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । निर्वाचन आयोग ऐन २०७३ को दफा २७ र २८ अनुसार कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयमा लेखेर पठाउन आयोगबाट मंगलबार निर्णय भएको हुँदा अर्थ मन्त्रालयमा पत्राचार समेत भएको आयोगले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।