काठमाडौं – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई निर्णयार्थ पेश गर्ने प्रक्रिया अगाडि बढाउन आज मंगलबार बसेको गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ ।
कोरोना भाइरस संक्रमणको महामारीले जोखिम बढेको भन्दै नेकपा एमालेले राखेको पीसीआर परीक्षण हुनुपर्ने जिद्दीले जितेको छ ।
एमालेको जिद्दीले जितेपछि आज मंगलबारको कार्यसूचीमा प्रवेश नै नगरी प्रदेशसभा बैठक स्थगित भएको छ ।
अब सबै सांसद र कर्मचारीको पीसीआर परीक्षण गरेर मात्रै बैठक बस्ने भएको छ ।
एमालेले प्रदेश सभाका सबै सांसद र सचिवालयका कर्मचारीको पीसीआर परीक्षण नहुँदासम्म बैठक चल्न नदिने जिद्दी गरेपछि मंगलबारको कार्यसूची प्रभावित भएको छ ।
सबै सांसदको कोरोना परीक्षण भएपछि बैठक चल्ने सहमति भएको कार्यव्यवस्था परामर्श समितिका सदस्य तथा एमाले सांसद कृष्णबहादुर थापाले बताएका छन् ।
गण्डकीमा मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी, जसपाले मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । सोमबार प्रस्ताव प्रदेशसभा बैठकमा पेश भइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।