काठमाडौं – तत्कालीन नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाएर राजीव गुरुङ ‘दिपक मनाङे’लाई प्रदेशसभा सदस्यमा जिताएको भएपनि अहिले एमालेलाई धोका दिएका छन् ।
तत्कालीन एमाले र माओवादी एकीकरण भएपछि सत्तारुढ दल नेकपा सांसद बनेका दिपक मनाङे दल विभाजनपछि छुट्टै बस्न स्वतन्त्र सांसदको अस्तित्व खोजिरहेका छन् ।
प्रधानमन्त्री ओलीका विश्वासपात्र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश भएपछि धेरैभन्दा धेरै सांसदको साथ चाहिएका बेला सांसद मनाङे स्वतन्त्र बनेका छन् ।
‘अहिले नै के गर्ने भन्ने माइन्ड मेकअप गर्या छैन । तर जनमोर्चाले जे गर्छ मैले पनि गर्ने त्यही हो,’ सांसद मनाङेले भनेका छन् । मनाङेलाई २०७६ असार ११ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै तत्कालीन नेकपामा प्रवेश गराएका थिए । तर पार्टी प्रवेशको जानकारी प्रदेशसभा सचिवालयमा नदिएका कारण कानूनी रूपमा मनाङे स्वतन्त्र सांसदकै हैसियतमा रहेका छन् ।
राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावलाई समर्थन गर्ने बताउँदै आएको छ । ३ सांसद रहेको जनमोर्चा गण्डकी प्रदेशको सत्ता समीकरणको निर्णायक भूमिकामा रहेको छ । तर केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले अविश्वास प्रस्तावलाई साथ रहेको बताएपछि एमालेका मुख्यमन्त्री गुरुङ प्रस्ट अल्पमतमा रहेका छन् ।
हालसम्म प्रदेश सभामा सत्तापक्षीय दीर्घामा बस्दै आएका सांसद गुरुङले सोमवार अलग्गै स्वतन्त्र ठाउँ माग्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका छन् । मनाङबाट एमालेको समर्थनमा स्वतन्त्र चुनाव जितेका मनाङे सोमवारदेखि शुरू भएको विशेष अधिवेशनमा समेत सत्तापक्षीय दीर्घामै बसेका छन् ।
‘म पहिले पनि एमाले थिएन । अहिले सबै आ–आफ्नै गुटमा बस्न थालेपछि मैले पनि त स्वतन्त्र ठाउँ पाउनुपर्यो । अलग्गै बस्नुपर्यो,’ उनले भने, ‘अब त म पहिला बस्या जस्तो हैन नि ! मलाई मेरो कुर्ची पायो भने त्यसैमा बस्ने भन्या’छु ।’
कूल ६० सांसद रहेको गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन ३१ मत चाहिन्छ । प्रदेश सभामा सत्तारुढ दल नेकपा एमालेसँग २७ सांसद मात्र रहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग १५, माओवादी केन्द्रसँग सभामुखसहित १२, जसपासँग २ र जनमोर्चासँग ३ सांसद रहेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेको छ । जसलाई माओवादी केन्द्र र जसपाका २८ जना सांसदले समर्थन जनाउँदै अविश्वास प्रस्तावमा हस्ताक्षर नै गरेका छन् । प्रस्ताव सोमवारको विशेष अधिवेशनमा पेश भएको छ ।
पेश भएको अविश्वास प्रस्तावमा सोमवारदेखि छलफल शुरू भएको छ भने बैशाख १५ गते मतदान गरेर गुरुङ नेतृत्वको प्रदेश सरकारको छिनोफानो लाग्ने भएको छ । यतिबेला एमालेका मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार संकटमा छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।